२०८३ श्रावण ९, शनिवार

रमाइलो पाठशाला र ॐ समाज डेण्टल अस्पतालको सहकार्यमा दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न : ८०० भन्दा बढी विद्यार्थी तथा अभिभावक लाभान्वित

राजन थापा

 

काठमाडौं |  तारकेश्वर–८, जरंखुस्थित रमाइलो पाठशाला र ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखाको संयुक्त आयोजनामा सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थीहरूको मुख तथा दन्त स्वास्थ्य सुधार, दन्त रोगबारे सचेतना अभिवृद्धि तथा समयमै उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित शिविरबाट ८०० भन्दा बढी विद्यार्थी तथा अभिभावक लाभान्वित भएका छन्। शिविरमा ॐ समाज डेण्टल अस्पतालका अनुभवी दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निःशुल्क दन्त परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेका थिए।

शिविरका क्रममा २५ जनाको दाँत सफा (स्केलिङ) गरिएको थियो भने ४२ जना बालबालिकाको आवश्यकताअनुसार दाँत निकालिएको थियो। साथै, सही तरिकाले दाँत माझ्ने विधि, मुखको सरसफाइ तथा दन्त रोगबाट बच्ने उपायबारे व्यवहारिक प्रशिक्षणसमेत प्रदान गरिएको थियो।

विद्यालयका सञ्चालक मधु सापकोटाले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने उल्लेख गर्दै भन्नुभयो, “विद्यार्थीहरूको शिक्षा भनेको खाली पढाइ मात्रै होइन। वास्तविक शिक्षा त्यही हो, जुन शिक्षाले विद्यार्थीहरूको जीवन उच्च बनाओस्। स्वस्थ शरीर, अनुशासन, नैतिकता र सकारात्मक सोच भएका विद्यार्थी नै राष्ट्रका असल नागरिक बन्छन्। त्यसैले विद्यालयले शिक्षासँगै स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।” विद्यालयका प्रधानाध्यापक वेदराज घिमिरेले यस्ता स्वास्थ्य शिविरले विद्यार्थी मात्र होइन, अभिभावकमा समेत स्वास्थ्यप्रतिको चेतना बढाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँका अनुसार विद्यालयले पढाइसँगै व्यवहारिक ज्ञान, नैतिक शिक्षा र स्वास्थ्य शिक्षालाई समान महत्व दिँदै आएको छ। त्यसैगरी ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङले अस्पतालको मूल उद्देश्य नाफा होइन, सेवा भएको बताउँदै भन्नुभयो, “हामी उपचार मात्र होइन, समाजमा स्वस्थ मुस्कान र स्वास्थ्य चेतना फैलाउने अभियानमा छौं। विद्यालयसँगको सहकार्यले सानै उमेरदेखि बालबालिकामा दन्त स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्याउँछ।” सामाजिक अभियानता राजन थापाले शिक्षा र स्वास्थ्य एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै भन्नुभयो, “आजका विद्यार्थी नै भोलिको समाजका नेतृत्वकर्ता हुन्। उनीहरूको स्वास्थ्य राम्रो भए मात्र शिक्षा प्रभावकारी हुन्छ। यस्ता सेवामूलक अभियानले समाजमा मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउँछन्।

सबै पक्षको सहकार्यबाट स्वस्थ, सचेत र समृद्ध समाज निर्माण सम्भव छ।” कार्यक्रमको समापनमा आयोजकले शिविर सफल बनाउन सहयोग गर्ने रमाइलो पाठशाला परिवार, ॐ समाज डेण्टल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, अभिभावक, स्वयंसेवक तथा सहभागी सम्पूर्ण विद्यार्थीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

विद्यालय र अस्पतालबीचको यस सहकार्यले शिक्षा र स्वास्थ्यलाई सँगसँगै अघि बढाउँदै स्वस्थ, सचेत र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।