बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् ।
काठमाडौं । बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले केही कर्मचारी पक्राउ परेको र अहिले उनीहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको जानकारी दिए ।
‘कार्यालयको सेक्युरिटी बस्ने कोठाबाट केहीलाई नियन्त्रणमा लिइएको हो,’ प्रजिअ हमालले भने, ‘उनीहरूले मादक पदार्थ सेवन गरेको हो/होइन भन्ने पुष्टि गर्न स्वास्थ्य परीक्षणका लागि लगिएको छ।’
गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले मादक पदार्थ सेवन गरीरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही कार्यालयमा खरिदार पदमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ११ बस्ने युवराज आचार्य, सोही कार्यालयका सवारीचालक बारबर्दिया नगरपालिका वडा नं ७ बस्ने गुणबहादुर चौधरी रहेका छन् ।
त्यसैगरी गुलरिया नगरपालिका भू सेवा कार्यालयमा कार्यरत गुलरिया नगरपालिका वडा नं ६ बस्ने सन्तोष राना रहेका छन् । भने गुलरिया नगरपालिका वडा ४ बस्ने बिचौलीया सुभा थारू र दिलमाया डाँगी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक रेशम बोहराले बताए । कार्यालयमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा सेवाग्राहीले थाहा पाएपछि खबर जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । उक्त सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको कमाण्डमा प्रहरी सहित टोली त्यहाँ पुगेको थियो ।
