जाजरकोट :भेरी नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै नागरिकबाट प्राप्त गुनासा, सुझाव, जिज्ञासा तथा रचनात्मक सल्लाहका आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यसहित १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
नगरपालिकाले सार्वजनिक सुनुवाइमा उठाइएका जायज गुनासा, सुझाव तथा प्रश्नलाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। साथै सेवाग्राहीले सहज, छिटो, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्न आवश्यक सुधारका कार्यलाई तीव्रता दिइने जनाएको छ।
नगरपालिकाले विकास निर्माणका सम्पूर्ण कार्यमा पारदर्शिता, गुणस्तर, समयपालना तथा नागरिक सहभागितालाई उच्च प्राथमिकता दिने जनाएको छ। त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, सडकलगायत आधारभूत सेवाको गुणस्तर सुधारका लागि आवश्यक पहललाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।
सार्वजनिक गरिएको प्रतिबद्धतामा सेवा प्रवाहमा देखिएका कमजोरी सुधार गर्दै कर्मचारी तथा जनप्रतिनिधिको उत्तरदायित्व र जवाफदेहिता थप सुदृढ गरिने उल्लेख छ। नागरिकबाट प्राप्त सुझावलाई आगामी नीति, योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्ने, सार्वजनिक स्रोत–साधनको मितव्ययी, पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्ने तथा सुशासन, सामाजिक उत्तरदायित्व, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर कार्य गरिने पनि नगरपालिकाले जनाएको छ।
यस्तै, नागरिकसँग नियमित संवाद, सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षणजस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समृद्ध, सुशासित र नागरिकमैत्री भेरी नगरपालिका निर्माणका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता नगरपालिकाले व्यक्त गरेको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिक, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै नगरपालिकाले सार्वजनिक गरिएका प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेको छ।
भेरी नगरपालिका नागरिकप्रति उत्तरदायी, पारदर्शी, जवाफदेही तथा सुशासनयुक्त सेवा प्रवाहमा सधैं प्रतिबद्ध रहेको छ। सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक महानुभावहरूबाट प्राप्त सुझाव, गुनासा, जिज्ञासा तथा रचनात्मक सल्लाहप्रति नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दै देहायबमोजिम प्रतिबद्धता व्यक्त गर्दछः
सार्वजनिक सुनुवाइका क्रममा उठाइएका जायज गुनासा, सुझाव तथा प्रश्नहरूको प्राथमिकताका आधारमा सम्बोधन गरिनेछ।
नागरिकले सहज, छिटो, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्राप्त गर्ने वातावरणलाई थप प्रभावकारी बनाइनेछ।
विकास निर्माणका कार्यमा पारदर्शिता, गुणस्तर, समयपालना तथा नागरिक सहभागितालाई उच्च प्राथमिकता दिइनेछ।
शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, सडक तथा अन्य आधारभूत सेवाको गुणस्तर सुधारका लागि आवश्यक पहल गरिनेछ।
सेवा प्रवाहमा देखिएका कमजोरी सुधार गर्दै कर्मचारी तथा जनप्रतिनिधिको उत्तरदायित्व र जवाफदेहिता थप सुदृढ गरिनेछ।
नागरिकका सुझावलाई आगामी नीति, योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्ने प्रयास गरिनेछ।
सार्वजनिक स्रोत–साधनको मितव्ययी, पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गरिनेछ।
सुशासन, सामाजिक उत्तरदायित्व, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखी कार्य गरिनेछ।
नागरिकसँग नियमित संवाद, सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षणजस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
समृद्ध, सुशासित र नागरिकमैत्री भेरी नगरपालिका निर्माणका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

