काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं. १६ खुसीबुँ, नयाँबजारस्थित बहुउद्देश्यीय मार्सलआर्ट भवनमा ११औँ वडा राष्ट्रिय ई–लाइट केनवाकाइ कराते च्याम्पियनसिप–२०२६ भव्य रूपमा सुरु भएको छ। देशका विभिन्न जिल्लाबाट आएका सयौँ खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ।
कुमारी युवा क्लब तथा कराते क्लब बालाजुटारको आयोजनामा र काठमाडौं महानगरपालिका वडा नं. १६ को विशेष सहयोगमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको उद्घाटन नेपाल कराते महासंघका महासचिव दावा गुरुङले गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व जापान गोजुरियो कराते केनवाकाइ नेपाल संघका अध्यक्ष विदुर कुँवरले गर्नुभएको थियो भने सञ्चालन कराते क्लब बालाजुटार, काठमाडौंका अध्यक्ष सूर्यप्रसाद घिमिरेले गर्नुभएको थियो।

उद्घाटन समारोहमा नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष कृष्ण डंगोल, नेपाल बेसबल तथा सफ्टबल संघका महासचिव प्रदीप शाह, टोल सुधार तथा उपभोक्ता समिति बालाजुटारकी अध्यक्ष कमला पौडेल, सामुदायिक केन्द्र बोहोराटारका अध्यक्ष शिवकुमार बोहोरा, टोल सुधार तथा उपभोक्ता समिति अध्यक्ष रामेश्वर रेग्मी तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष भीष्मकान्त घिमिरेलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, नुवाकोट, रुपन्देही, दोलखा र बाग्लुङ जिल्लाबाट आएका २३५ जना खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय स्तरमा कराते खेलको विकास, विस्तार तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा निर्णायकको भुमिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २२ जना रेफ्रीहरु सहभागि भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत विभिन्न स्पर्धाहरू उत्साहजनक रूपमा सञ्चालन भइरहेका छन्। आयोजकले प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम २०८३ साल जेठ ३० गते आयोजना गरिने जनाएको छ।
खेलकुदमार्फत अनुशासन, आत्मविश्वास, खेल भावना तथा स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले नेपाली कराते खेलको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

