२३ बैशाख २०८३, बुधबार

जाजरकोटका भुकम्प पिडितहरु पुनर्निर्माणकाे माग सहित प्रदर्शनमा उत्रिएका छन

काठमाडौं :जाजरकोटका भूकम्पपीडितहरूले पुनर्निर्माणमा भएको ढिलासुस्तीकाे बिराेध प्रदर्शन गरेका छन ।सोमबार काठमाडौंको माइतीघर मण्डलामा जाजरकोटका युवनहरुले विरोध प्रदर्शन  गरेका गरेका थिए।

२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम र सल्यानमा ठूलो क्षति पुर्‍याएको थियो । उक्त भूकम्पमा १ सय ५० भन्दा बढीको ज्यान गएको थियो भने करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो ।

भूकम्प गएको करिब तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणको काम प्रभावकारी रूपमा अघि नबढेको भन्दै पीडितहरूले सरकारप्रति असन्तुष्टि जनाएका हुन् । हालसम्म धेरै प्रभावित परिवारहरू टिनका अस्थायी टहरामा बस्न बाध्य रहेको उनीहरूको गुनासो छ ।

प्रदर्शनमा सहभागी अभियन्ता प्रेम विश्वकर्माले भूकम्पपीडितहरूले दैनिक रूपमा कष्ट भोग्नुपरेको र सरकारको ध्यानाकर्षण गराउन आन्दोलन गर्नुपरेको बताए । उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा भूकम्प पुनर्निर्माणलाई प्राथमिकतामा राख्न दबाब दिन यो प्रदर्शन गरिएको बताए ।

प्रदर्शनकारीहरूले पुनर्निर्माण प्रक्रियालाई तीव्र बनाउन ११ बुँदे माग अघि सारेका छन्। उनीहरूले अनुदान वितरणमा भएको ढिलाइ अन्त्य गर्न, क्षति मूल्याङ्कन प्रतिवेदन सच्याउन, लाभग्राहीलाई तुरुन्त अनुदान उपलब्ध गराउन, भूकम्प प्रतिरोधी घर निर्माण सुनिश्चित गर्न तथा जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रिया सुरु गर्न माग गरेका छन्।

यस्तै, जाजरकोट दरबारलगायत सरकारी संरचनाको पुनर्निर्माण तत्काल सुरु गर्न, पुनर्निर्माण आयोजनामा कर्मचारी व्यवस्थापन गर्न र प्रभावित युवाहरूका लागि रोजगारीको व्यवस्था गर्न पनि माग गरिएको छ।

प्रदर्शनमा अधिकारकर्मीहरूको समेत ऐक्यबद्धता रहेको थियो। आयोजकहरूले भूकम्पपीडितका माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका थिए।