काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकापस्थित सान इन्टरनेशनल कलेजमा शुक्रबार एक भावुक र उल्लासमय वातावरणका बीच कक्षा १२ मा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई गरिएको छ।
विदाई कार्यक्रम सामान्य औपचारिकतामा सीमित नरही प्रेरणा, सम्झना र भविष्यप्रतिको दृढ संकल्पले भरिएको विशेष समारोहका रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूको अनुशासन, मेहनत र उपलब्धिको प्रशंसा गर्दै उनीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका ओम समाज डेन्टल अस्पताल का अध्यक्ष तथा ख्यातिप्राप्त ओरल म्याक्सिलोफेसियल विशेषज्ञ डा. सुवास घिमिरेले आफ्नो प्रेरणादायी मन्तव्यमा विद्यार्थीहरूलाई जीवनको प्रतिस्पर्धात्मक यात्रामा इमान्दारिता, लगनशीलता र सकारात्मक सोचलाई अंगाल्न आग्रह गरे। उनले भने, “आजको विदाई अन्त्य होइन, एउटा नयाँ सुरुवात हो—जहाँ तपाईंहरूको पहिचान, संघर्ष र सफलता तय हुनेछ।”
त्यस्तै अस्पतालका बोर्ड सदस्य राजन थापाले पनि विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्दै शिक्षा मात्र नभई व्यवहारिक सीप र नैतिक मूल्यलाई पनि उत्तिकै महत्व दिनुपर्ने धारणा व्यक्त गरे।
कलेजका प्रिन्सिपल डा. सम्भा घिमिरेले विद्यार्थीहरूसँग बिताएका वर्षहरू सम्झँदै भावुक बनेका थिए। उनले विद्यार्थीहरूको प्रगति र सफलताको कामना गर्दै कलेज सधैं उनीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरे। शैक्षिक प्रमुख धुर्व खड्का र अपरेसन इन्चार्ज राज फुयाँलले पनि विद्यार्थीहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभेच्छा व्यक्त गरे।
विशेषतः, कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो, जसले समारोहलाई अझ आकर्षक बनाएको थियो।
सान इन्टरनेशनल कलेजद्वारा आयोजना गरिएको यो विदाई कार्यक्रम केवल औपचारिकता नभई विद्यार्थीहरूको जीवनको एक महत्वपूर्ण मोडलाई स्मरणीय बनाउने प्रयासका रूपमा हेरिएको छ। कलेज प्रशासनका अनुसार, यहाँबाट विदा भएका विद्यार्थीहरू आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै संस्थाको नाम उजागर गर्ने विश्वास लिइएको छ।

