काठमाडौं । राजधानीको मुटुमा सञ्चालन हुँदै आएको चक्रपथ सरसफाई महाअभियानले फेरि एकपटक समाजलाई झकझक्याउने काम गरेको छ। ४६८ औं हप्तामा पुगेको यस अभियान अन्तर्गत आयोजित ११ औं बृहत रक्तदान कार्यक्रममा एकैदिन ११० पिन्ट रगत संकलन भएसँगै “मानवता जिउँदो छ” भन्ने सन्देश प्रस्टिएको छ।
रगत अभावका कारण अस्पतालका बेडमा छट्पटाइरहेका बिरामीहरूका लागि यो कार्यक्रम जीवनदायी सावित भएको छ। “रगत नपाएर कसैले ज्यान गुमाउनु नपरोस्” भन्ने मूल नारालाई आत्मसात गर्दै सयौं युवादेखि ज्येष्ठ नागरिकसम्म रक्तदानमा ओइरिँदा कार्यक्रम स्थल नै मानवीय भावनाले भरिएको दृश्य बनेको थियो।
यस ऐतिहासिक अभियानको अगुवाइ गर्दै संयोजक लोक बहादुर टण्डन फेरि एकपटक चर्चाको केन्द्रमा उभिनुभएको छ। उहाँको निरन्तर सक्रियता र दृढ इच्छाशक्तिले सामान्य सरसफाई अभियानलाई आज राष्ट्रकै प्रेरणादायी सामाजिक आन्दोलनमा रूपान्तरण गरिदिएको छ।
कार्यक्रमलाई सफल बनाउन ग्रीन सिटी हस्पिटल, यती हेल्थ साइन्स एकेडेमी, ब्रह्मा कुमारी राजयोग उपसेवाकेन्द्र रानिवारी र ब्लड डोनर्स एसोसिएसन काठमाडौं मध्य क्षेत्र जस्ता संस्थाहरूको उल्लेखनीय सहकार्य देखियो।
कार्यक्रम व्यवस्थापनमा गायक तथा सामाजिक अभियन्ता तिलक बस्नेत को सक्रियता झल्किएको थियो भने प्रचार–प्रसारको मोर्चामा डि.बि. पराजुली ले प्रभावशाली भूमिका निर्वाह गर्नुभयो।
मिडिया सहकार्यमा राष्ट्रिय खबर डटकम र तुफान न्यूज डटकम ले कार्यक्रमलाई देशव्यापी चर्चा दिलाएका थिए भने प्राविधिक सहयोग मेट्रो ब्लड बैंक ले प्रदान गरेको थियो।
कार्यक्रमको अन्त्यमा रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको दृश्यले सबैलाई भावुक बनायो। धेरै सहभागीहरूले “यो केवल रक्तदान होइन, जीवनदान हो” भन्दै आगामी दिनमा अझ ठूलो सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

