१५ फाल्गुन २०८२, शुक्रबार

धार्मिक समाजसेवी रूपक लोहनीको ‘शिव ताण्डव स्तोत्रम’ सार्वजनिक

काठमाडौँ । नुवाकोट बेलकोटगढी–१३ दाङ्मै स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका धार्मिक समाजसेवी रूपक लोहनीको बहुप्रतीक्षित भजन “शिव ताण्डव स्तोत्रम” सार्वजनिक भएको छ। भक्ति, आस्था र आध्यात्मिक भावनालाई सशक्त ढंगले प्रस्तुत गरिएको यस स्तोत्रमले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ विशेष चर्चा बटुल्न थालेको छ।

आराध्यदेव भगवान् शिवप्रति समर्पित यस स्तोत्रममा नेपालका चर्चित धार्मिक स्थलहरूको मनमोहक दृश्य समेटिएको छ, जसले भिडियोमा थप आध्यात्मिक गरिमा र भावनात्मक गहिराइ प्रदान गरेको छ। गायक अशोक पाण्डेको संगीत तथा सशक्त स्वरले स्तोत्रमलाई प्रभावशाली बनाएको छ भने कोरसमा मनीष रञ्जन बराल र शिव पारायण स्वरमा शिवराज जोशीको सहभागिताले प्रस्तुति अझै गुञ्जायमान बनेको छ।

पण्डित राजकुमार आचार्यको शब्द संयोजनमा तयार भएको यो भजनलाई निर्देशक सुनिल क्षेत्रीले भव्य ढंगले पर्दामा उतारेका छन्। भिडियोमा सुनिल क्षेत्री, रूपक लोहनी, प्रशान्त सुन्दास र पूर्णिमा विश्वकर्माको अभिनय देख्न सकिन्छ, जसले कथा र भक्ति भावलाई जीवन्त बनाएको छ।

संगीत संयोजन नारायण डंगाल, मिक्सिङ–मास्टरिङ चन्द्र चौधरीले गरेका छन् भने ‘Acoustic Studio’मा रेकर्ड गरिएको हो। भिडियोतर्फ छायांकन दुर्गा पौडेल र नवराज उप्रेतीले गरेका हुन्। कोरियोग्राफी एबी, प्रशान्त, रितेश र पूर्णिमाले संयुक्त रूपमा गरेका छन् भने सम्पादन तथा कलरिङ अमृत चापागाईंले गरेका छन्। मेकअप आर्टिस्टका रूपमा सबिना गुरुङ र रोजिना श्रेष्ठको योगदान रहेको छ।

आध्यात्मिक सन्देश, सशक्त प्रस्तुति र प्रविधिको सन्तुलित प्रयोगले सजिएको “शिव ताण्डव स्तोत्रम” भजनले धार्मिक संगीतप्रेमीमाझ नयाँ ऊर्जा र श्रद्धाको अनुभूति दिलाउने अपेक्षा गरिएको छ। विशेषगरी विदेशमा बसेर पनि नेपाली धर्म–संस्कृतिलाई प्रवर्द्धन गर्ने रूपक लोहनीको यो प्रयासलाई धार्मिक तथा सांगीतिक क्षेत्रले सकारात्मक रूपमा लिएको छ।