२४ माघ २०८२, शनिबार

नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय क्षेत्र नं. १ निर्वाचन परिचालन समितिको आयोजनामा माघ २३ गते बृहत भेला हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै काठमाडौंमा शक्ति प्रदर्शनको तयारी तीव्र बनाएको छ। नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय क्षेत्र नं. १ निर्वाचन परिचालन समितिको आयोजनामा माघ २३ गते, शुक्रबार विहान बृहत भेला हुने भएको छ।

काठमाडौंको जडिबुटीस्थित म्याजेस्टिक इभेन्ट तथा वैंक्वेटमा शुक्रबार बिहान ठिक ११:३० बजे सुरु हुने उक्त भेलामा पार्टीका शीर्ष नेतृत्वको सशक्त उपस्थिति रहनेछ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका सह–संयोजक माधव कुमार नेपाल सहभागी हुने आयोजकले जानकारी दिएका छन्। सो कार्यक्रममा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा जनप्रिय युवा नेता माधव सापकोटा ‘सुबोध’ मुख्य आकर्षण हुने छन्। यो भेलालाई चुनावी अभियानको निर्णायक मोडका रूपमा लिइएको छ।

कार्यक्रम जडिबुटी चोकबाट पेप्सिकोला जानेतर्फ, वडा नं. ३२ कार्यालय भवनको ठीक अगाडि रहेको म्याजेस्टिक इभेन्ट तथा वैंक्वेटमा आयोजना हुनेछ। नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिका नेतातोक बहादुर गधराज (तोकेन्द्र)का अनुसार, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ घर भई हाल काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका पार्टीका जिम्मेवार नेता, पार्टी सदस्य, शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। गहतराजले यो भेला चुनावी अभियानलाई निर्णायक रूपमा अघि बढाउने अर्थपूर्ण भेला बन्ने बताए।

भेलामार्फत संगठनात्मक एकता सुदृढ गर्दै जनताको पक्षमा दृढ कम्युनिष्ट विकल्प प्रस्तुत गर्ने र सिन्धुपाल्चोक–१ मा विजय सुनिश्चित गर्ने रणनीति सार्वजनिक गरिने जनाइएको छ। केन्द्रिय नेताहरुको धारणा, कार्यकर्ताको उत्साह र जनताको विश्वास एकै ठाउँमा केन्द्रित हुने यो बृहत भेला काठमाडौंमा नेकपाको शक्ति र प्रभाव देखाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सोही कार्यक्रममा विशेष घोषणा समेत हुने जनाइएको छ ।