२३ पुष २०८२, बुधबार

रातोपाटी अनलाईनमा प्रकाशित समाचार प्रति नेपाल हवाई यातायात नियन्त्रक संघको ध्यानाकर्षण

काठमाडौं । मिति २०८२/०९/१८ गते “रातोपाटी” अनलाइन मिडियामा “क्यानभित्र संस्थागत विचलन, नियामककै तजबिजी निर्णायक” भनी प्रकाशित एक समाचार प्रति यस नेपाल हवाई यातायात नियन्त्रक संघ (NATCA) को गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

समाचारमा उल्लेख भए अनुसार नेपाल नागरिक उड्यन प्राधिकरण (CAAN) का एक जिम्मेवार वरिष्ठ कर्मचारीद्वारा सार्वजनिक मञ्चमा “एयर ट्राफिक कन्ट्रोलर्सहरू अक्षम छन्, त्यसैले म हवाई यात्रा गर्न डराउँछु” भन्ने अभिव्यक्ति प्रति नेपाल हवाई यातायात नियन्त्रक संघ गम्भीर आपत्ति प्रकट गरेको छ ।

उक्त अभिव्यक्ति अत्यन्त गैरजिम्मेवार, तथ्यहीन, अपमानजनक तथा पेशागत मर्यादा विपरीत रहेको संघको ठहर छ। प्रमाण र तथ्यबिनै एयर ट्राफिक कॉलरहरूलाइ होच्याउने मनसायले गरिएको यस्तो सार्वजनिक टिप्पणीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्यरत एयर ट्राफिक कन्ट्रोलर्हरुको पेशागत गरिमा र मनोबलमा गम्भीर आघात एवं आम यात्रुमा समेत अनावश्यक भय, भ्रम र सम्पूर्ण नेपाली नागरिक उड्डयन प्रणालीको विश्वसनीयतामा नकारात्मक असर पुयाएको संघले जनाएको छ ।

नेपालका एयर ट्राफिक कन्ट्रोलर्सहरू अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) का मापदण्डअनुसार तालिमप्राप्त, प्रमाणित र निरन्तर मूल्यांकनमा रहेका दक्ष जनशक्ति हुन् । यस प्रकारको गैरजिम्मेवार अभिव्यक्तिप्रति नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनले घोर भर्त्सना गरेको छ ।

नागरिक उड्डयन जस्तो संवेदनशील क्षेत्रमा कार्यरत जिम्मेवार पदाधिकारीबाट यस किसिमको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण मात्र नभई राष्ट्रको उड्डयन सुरक्षाप्रतिको विश्वास कमजोर पार्ने कार्य हो भन्ने संघको स्पष्ट धारणा छ । सम्बन्धित कर्मचारीबाट सार्वजनिक रूपमा तत्काल स्पष्टीकरण तथा क्षमायाचना गराउँदै प्राधिकरणले ती कर्मचारीलाइ तत्काल अन्यत्र सरुवा गरी आवश्यक कारवाही गर्न र भविष्यमा यस्ता गैरजिम्मेवार अभिव्यक्ति नदोहरिने सुनिश्चितता गराउन जोडदार माग गरेको छ ।

अन्यथा पेशागत मर्यादामाथिको धावा ठानी नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसन हदै सम्मको संघर्षमा जान बाध्य हुने व्यहोरा जानकारी गराएको छ ।