डि.बि.पराजुली
यतिबेला सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ फेरि एकपटक चर्चाको केन्द्रमा रहेको छ । नेपाली कम्युनिष्ट पार्टी बाट माधव सापकोटा ‘सुबोध’ र नेपाली काँग्रेसबाट मोहनबहादुर बस्नेत चुनावी तयारीमा जुटेको चर्चा चलिरहँदा यो प्रतिस्पर्धालाई केवल दुई नेताबीचको चुनावी भिडन्तका रूपमा हेर्नु अधुराहुने विश्लेषण गर्न थालिएको छ । यो क्षेत्रलाई नेतृत्वको शैली, राजनीतिक संस्कार र जनताप्रतिको उत्तरदायित्वबीचको परीक्षाको रुपमा हेरीएको छ ।
माधव सापकोटा ‘सुबोध’ संगठनको जगबाट माथि उठेका नेता हुन् । २०५२ साल बाट नेपालमा शुरुभएको जनयुद्धको कुशल कमाण्डरकोरुपमा स्थापित भएका उनी लामो समयदेखि पार्टी पंक्तिमा सक्रिय रहेर स्थानीय तहमा जरा गाड्दै आएका छन्
उनको राजनीतिक पूँजी भनेकै कार्यकर्तासँगको निरन्तर सम्पर्क र संगठनात्मक अनुशासन हो । संघिय संसदमा समेत आफ्नो युवा क्षमाता र कार्य कौशलता देखाईसकेका सापकोटा परिवर्तन, जवाफदेहिता र नयाँ कार्यशैलीको भाष्य बोकेर मतदातामाझ जाने सम्भावना देखिन्छ । तर सरकार र अन्तर्राष्ट्रिय तहमा निर्णायक भूमिका खेलेको अनुभवको अभावलाई उनले कसरी पूर्ति गर्छन् भन्ने प्रश्न खुलै छ ।
अर्कोतर्फ, मोहनबहादुर बस्नेत अनुभव र सत्तासँग नजिकको नाम हो । मन्त्रीको हैसियतमा काम गरिसकेका उनले केन्द्रसँगको पहुँच र विकास योजनाहरूलाई आफ्नो मुख्य उपलब्धिका रूपमा प्रस्तुत गर्नेछन् । अनुभवी नेतृत्वले स्थायित्व दिन्छ भन्ने विश्वास राख्ने मतदाताका लागि उनी परिचित र भरपर्दो विकल्प देखिन सक्छन् । यद्यपि, लामो राजनीतिक यात्रापछि पनि स्थानीयतहमा समयसापेक्षित परिवर्तनको अनुभूति किन कमजोर छ भन्ने आलोचनाबाट उनी पूर्ण रूपमा मुक्त छैनन् ।
यो निर्वाचनमा निर्णायक प्रश्न एउटै देखिन्छ—मतदाता के खोज्दैछन् ?
परिवर्तनको चाहना बलियो भए संगठनमा खारिएका तर सत्तामा कमअनुभवी नेता सापकोटाको सम्भावना बढ्छ । स्थायित्व र पहुँच प्राथमिकतामा भए अनुभवी र पुरानो राजनीतिक नेटवर्क बलियो बन्न जान्छ, जसको फाईदा बस्नेतले लिनेछन् ।
सिन्धुपाल्चोक–१ को चुनावले केवल एक सांसद मात्र चयन गर्ने छैन, यसले हामी कस्तो राजनीतिक संस्कृति रोज्दैछौँ भन्ने सन्देश पनि दिनेछ । यो चुनाव विचार, आचरण र जवाफदेहिताको मूल्याङ्कन गर्न सक्ने मतदाताको चेतनाको परीक्षा पनि हो ।
अन्ततः यो प्रतिस्पर्धा जित–हारको मात्र कथा होइन । यो नेतृत्वको पुनर्परिभाषा र जनताको राजनीतिक अपेक्षाको सूचक बन्नेछ । सिन्धुपाल्चोक–१ ले दिने फैसला भविष्यको राजनीतितर्फ संकेत गर्नेछ—अनुभवको निरन्तरता कि संगठनबाट उठेको परिवर्तन ।
