१६ कार्तिक २०८२, आईतवार

भाटभटेनी जल्दा दङ्ग ब्युटिसियन एञ्जिला भन्छिन् अब पिएचडि वालीको ब्युटीपार्लर जलाउनु पर्छ

काठमाडौं । झापाको विर्तामोडमा सौन्दर्य व्यवसाय गर्दै आएकी एञ्जिला धमलाले आपराधिक कार्यलाई प्रोत्साहन दिएकी छन् । उनले आफू स्वयम् ब्युटिसियन भएर पनि ब्युटिसियनकै हितविरुद्ध बोलेकी छन् ।

सामाजिक सञ्जाल टिकटकमार्फत उनले जेन जी आन्दोलनमा भाटभटेनी सुपरमार्केट जलाइएसजस्तै गरी अर्काको ब्युटीपार्लर जलाउन आह्वान गरेकी छन् । उनले रिसइबी साँध्न खोजेको ब्युटीपार्लर र त्यसका सञ्चालकको नाम नतोकीकनै त्यसको ९/१० वटा शाखा रहेको उल्लेख गरेकी छन् ।

उनले नेपालमा पुनः आन्दोलन भएमा सुरूमै उक्त ब्युटीपार्लर जलाउने कार्यमा सहभागी हुन ब्युटिसियनहरूलाई आग्रह गरेकी छन् ।

उनले टिकटकमा पोष्ट भएको उक्त भिडिओलाई स्वाभाविक भनिन् । भिडिओमा आफूले कसैको नाम नलिएकाले आफ्नो गल्ती नरहेको उनको तर्क छ ।

आफूहरू सानोतिनो सौन्दर्य व्यवसायमा रहेको तर त्यसलाई असर पर्नेगरी ‘सम्बन्धित ब्युटिसयन’ले भिडिओहरू पोष्ट गरेकाले त्यसैको प्रतिकारस्वरूप आफूले टिकटकमा उक्त भिडिओ राखेको उनले बताइन् । तर, उनको आशय आफ्नो क्षेत्र आसपास सेवाग्राहीलाई सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने कुनै पनि ठूला पार्लरहरू खुल्न नहुने भन्ने रहेको स्रोत बताउँछ ।

यदि उनी अन्यायमा परेकी थिइन् भने उनले कानुनी उपचार खोज्ने थिइन् । तर, उक्त बाटो नअपनाएर ब्युटीपार्लर नै जलाउनुपर्ने अभिव्यक्ति दिनुले उनी ईर्ष्या र द्वेषको भावले ग्रसित रहेको स्पष्ट सङ्केत गर्छ ।

उनले आफूहरू कानुनी प्रक्रियामा जाने सल्लाहमा रहेको पनि बताइन् । तर, आफैले कानुनलाई हातमा लिन गरेको प्रयास चाहिँ सही देखिरहेकी छन् । यो नै उनको दृष्टिदोष हो ।

यस्तै, भाटभटेनी सुपरमार्केट जलाएजस्तै गरी ब्युटीपार्लर पनि जलाइदिनुपर्ने अभिव्यक्तिबाट भाटभटेनी जलाउने कार्यमा उनी आफै पनि संलग्न हुनसक्ने आशङ्कालाई नकार्न सकिँदैन । किनकि उनी भाटभटेनीले व्यापार र रोजगारी सिर्जना गरेकोमा भन्दा त्यसलाई जलाएर खरानी बनाइएकोमा खुसी देखिइन् ।

स्मरणीय छ, जेन जी आन्दोलनका क्रममा विर्तामोडस्थित भाटभटेनीको आउटलेट पनि आगजनी गरेर पूर्ण रूपमा नष्ट गरिएको थियो ।

यसका साथै, ब्युटीपार्लर जलाउनुपर्ने तर्क र त्यसमा सामूहिक सहभागिताको आह्वान सिधै आपराधिक कार्यलाई प्रोत्साहन हो । यस्तोमा उनलाई कारबाही हुनसक्ने स्पष्ट आधार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले बताए ।

नेपाल ब्युटिसियन सङ्घ (ट्रेड) की संस्थापक अध्यक्ष भगवती खड्काले आफूले पनि ब्युटिसयन धमलाको उक्त भिडिओ हेरेको भन्दै त्यो ‘अत्यन्त गलत’ भएको बताइन् ।

खड्काले भनिन्, ‘एउटी ब्युटिसियनले उही व्यवसाय गर्ने अर्की ब्युटिसियनको पार्लर जलाउँछु भन्नु सरासर गलत हो । उहाँले आफ्नो न्यूनतम पेशागत मर्यादा भुलेर आफ्नै छवि बिगार्नुभएको छ ।’

उनले हाल आफू काठमाडौं उपत्यकाबाहिर रहेको र फर्केपछि यस विषयमा थप छलफल गरेर आवश्यक निर्णय लिने बताइन् ।

के भनेकी थिइन् धमलाले ?

अस्ति जेन जीले ९/१० वटा ब्रान्च खोलेको झुटा प्रचारप्रसार गर्ने होनहार ब्युटिसियन दिदीको ब्युटीपार्लर भाटभटेनीजस्तै जलाइदिनुपर्थ्यो । दिदीको ब्युटीपार्लरका ब्रान्चहरू धेरै छ रे, अनि राजनीतिक क्षेत्रमा पनि उहाँ एकदम अगाडि हुनुहुन्छ रे भनेको सुनेकी थिएँ । सुन्नमा आएको हो तर भेटेको, चिनेको, जानेको छैन । त्यतिखेर चाहिँ कहाँ लुकेर बस्नुभएको रहेछ उहाँ ? उहाँ पनि पार्टीकै मान्छे रे भनेको सुनेकी थिएँ । तर, फेरिफेरि यसरी नै आन्दोलन भयो भने चाहिँ हामी सबै ब्युटिसियन दिदीबहिनी सुरूमै पीएचडीवाली ब्युटिसियन दिदीकोमा जानुपर्छ है त !