३ आश्विन २०८२, शुक्रबार

सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य राख्न बिभागकाे निर्देशन

काठमाडौं :यातायात व्यवस्था विभागले सम्पूर्ण सवारीधनीलाई अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न निर्देशन दिएको छ।

विभागले सूचना जारी गर्दै असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण प्रक्रियामा इम्बोस्ड नम्बरप्लेट अनिवार्य हुने जनाएको छ।

सूचनामा भनिएको छ: “सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएकाले सबै सवारीधनीले यथाशीघ्र सम्बन्धित कार्यालयमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन जानकारी गराइन्छ।”

गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समिति बैठकले पनि असोज १ गतेदेखि इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो।