काठमाडौँ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मान्यतालाई आत्मसात् गर्दै बि.सं.२०३८ सालदेखि आधिकारिक रूपमा नेपालमा भित्रिएको तेक्वान्दो खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै खेलाडीहरू उत्पादन गरिसकेको छ ।
यस्तै आत्मरक्षा र भविष्यको लागि खेल अत्यावश्यक छ भनेर काठमाडौँ महानगरपालिका वडा नं. १६ मा सुरु गरिएको ‘द च्याम्पियन्स तेक्वान्दो डोजाङ्ग’को ग्रेडिङ्ग कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
रानीवनस्थित आफ्नै हलमा सम्पन्न भएको यस कार्यक्रम द च्याम्पियन्स तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक प्रदिप आले मगरको सभापतित्व तथा का.म.पा. १६ का सहायक सचिव टेक बहादुर के.सी. को प्रमुख आतिथ्यतामा डोजाङका सचिव सुमन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा ‘स्मार्ट किड्स किन्डरगार्डेन’ खरिबोटकी प्रिन्सिपल सविता घिमिरे, नेपाल पुलिस क्लबका प्रशिक्षक अनोज पुजारी, गुह्यश्वरी तेक्वान्दो डोजाङका प्रशिक्षक फिरोज श्रेष्ठ विशेष अतिथिको रूपमा रहनुभएको थियो भने हालसालै कोरियामा सम्पन्न “सोङनाम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८२” को दुईवटा विधाका स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबमा आबद्ध अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी प्रेम बहादुर लिम्बु, हालसालै मलेसियामा सम्पन्न “इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिप”प्रतियोगिताका स्वर्ण पदक विजेता एपिएफ क्लबमा आबद्ध अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी मोहम्मद रफिक, समाजसेवी एवं डोजाङ्ग सञ्चालनका लागि जग्गा र हल प्रदान गर्नुहुने सरिता देवी श्रेष्ठ, मिना लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा खेलाडीहरूका अभिभावकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
द च्याम्पियन्स तेक्वान्दो डोजाङमा नियमित अभ्यास गरिरहेका प्रशिक्षार्थीहरूको ग्रेडिङ नेपाल पुलिस क्लबका तेक्वान्दो प्रशिक्षक अनोज पुजारीले गराउनुभएको थियो । खेलाडीहरूले प्रदर्शन गरेको कलाकौशलता र पुम्सेको आधारमा बेल्ट अपग्रेड गर्ने कार्य सम्पन्न भएको हो ।
ग्रेडिङमा उच्च कौशलता प्रदान गरेका ४ जना खेलाडीहरूले डबल प्रमोसन समेत पाएका छन् । जसमा बल्लभ खनाल र आकांक्षा भुजेलले White Belt बाटHalf Green Belt एवं श्रीयान श्रेष्ठ र क्रिष्टिना रानाले Yellow Belt बाट Green Belt पाएका हुन् । साथै उच्च अनुशासनमा रहने खेलाडीको रूपमा समिर कँडेल र अंकिता थापा मगरले अवार्ड हात पारेका छन् । राम्रो खेल प्रदर्शन गरेको भन्दै श्रीयान श्रेष्ठ र कृष्टिना गुरुङलाई गुह्यश्वरी तेक्वान्दो डोजाङका प्रशिक्षक फिरोज श्रेष्ठले मायाको चिनोसमेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्मार्ट किड्स किन्डरगार्डेन खरिबोटकी प्रिन्सिपल सविता घिमिरेले आत्मरक्षाको लागि मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नाम कमाउन पनि तेक्वान्दो खेल महत्वपूर्ण भएकोले अभिभावकहरूले यसलाई ध्यान दिएर आफ्ना बच्चाहरूलाई खेल खेल्न पठाउन आग्रह समेत गर्नुभएको थियो ।
हालसालै कोरियामा सम्पन्न “सोङनाम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८२” को दुईवटा विधाका स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबमा आबद्ध अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी प्रेम बहादुर लिम्बुले दुःख गरेर खेल्न सके खेल क्षेत्रको भविष्य अत्यन्त राम्रो रहेको भन्दै खेलाडीहरूलाई हौसला प्रदान गर्नुभयो ।
द च्याम्पियन्स तेक्वान्दो डोजाङमा नियमित अभ्यास गरिरहेका प्रशिक्षार्थीहरूको ग्रेडिङ गराउनुभएका नेपाल पुलिस क्लबका तेक्वान्दो प्रशिक्षक अनोज पुजारीले आफुले पनि यस्तै ठाउँबाट प्रशिक्षण लिएर आज यो स्थानमा पुगेको स्मरण गराउँदै खेलमा पछिल्लो समय निकै सम्भावना बढेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि का.म.पा. १६ का सहायक सचिव टेक बहादुर के.सी.ज्यूले आफ्नो समयमा धनी र घरानियाँ परिवारले मात्र यस्तो खेलहरू खेल्न पाउने भए पनि आफूले लुकीलुकी यस्ता आत्मरक्षासम्बन्धी खेल सिकेको स्मरण गर्दै खेलाडीहरूलाई उज्वल भविष्यको कामना समेत गर्नुभयो ।
कार्यक्रम सञ्चालन गर्ने क्रममा डोजाङका सचिव सुमन श्रेष्ठले सबैको सहयोगले नै डोजाङ यो स्थानसम्म आउन सफल भएको बताउनुभएको थियो । उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा सहयोगी हातहरूलाई डोजाङको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
यसैगरी सोही डोजाङबाट ब्ल्याक बेल्ट पास आउट भई विदेश भ्रमणमा जान लागेका जुनसाङ्ग लामालाई मायाको चिनोसहित बिदाइ गरिएको थियो भने मिडिया पार्टनरको रूपमा सारा खबर डटकमले भूमिका निर्वाह गरेको थियो ।
कार्यक्रमको समापन गर्दै द च्याम्पियन्स तेक्वान्दो डोजाङका प्रमुख तथा मुख्य प्रशिक्षक प्रदिप आले मगरले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने सबैलाई हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।