११ श्रावण २०८१, शनिबार

सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा जोडिने

काठमाडौँ — निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश गर्ने जनाएको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आयोगले उक्त प्रचारसमेत निर्वाचन खर्चमा समावेश हुने बताएको हो ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको अवस्थामा दल र उम्मेदवारले सामाजिक सञ्जालको प्रयोगसमेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोग सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ‚’ सोमबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति‚ २०७७ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन‚ अनुगमन तथा मूल्यांकनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम भए/गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्यांकन गर्ने कार्य भइरहेको भन्दै आयोगले सामाजिक सञ्जालमा गरिएको प्रचारको खर्च पनि निर्वाचन खर्चमा जोडिने बताएको हो ।

यसका साथै आयोगले निर्वाचन आचारसंहिता‚ २०७९ को दफा ४ को (ठ) मा सामाजिक सञ्जालमा निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले होच्याउने‚ दुष्प्रचार गर्ने‚ भ्रामक सूचना सम्प्रेषण गर्ने‚ द्वेषपूर्ण अभिव्यक्ति दिनेजस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने व्यवस्था गरेको जनाएको छ ।No description available.