१३ श्रावण २०८२, मंगलवार

भावुक हुँदै निर्मलाकी आमा भन्छिन्– जति भोगेँ, त्यो मलाई मात्र थाहा छ

काठमाडौं । ४२ वर्षीया दुर्गादेवी पन्तको जीवनमा सात वर्षदेखि अँध्यारो रातले डेरा जमाएको छ। जसको जीवनमा यतिका वर्षसम्म न्यायको बिहानी आएको छैन ।

 

दुर्गादेवीकी छोरी निर्मला पन्तको सात वर्षअघि १३ वर्षको उमेरमा बलात्कारपछि हत्या भएको थियो । २०७५  साउन १० गते  भीमदत्त नगरपालिका वडा नं २, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

सात वर्षको अवधिमा देशमा पटक-पटक सरकारहरू बने। तर, आश्वासनबाहेक कुनै पनि सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सकेन। अब त दुर्गादेवीको मनमा रहेको न्यायको झिनो आशा पनि निभ्न लागेको छ।

 

‘अब कस्तो महसुस हुनु र? आशा नभएको, आशा मरेकोजस्तो भएको छ। अब त अपराधी पत्ता लाग्दैन जस्तो लाग्छ मलाई,’ दुर्गादेवीले थकित आवाजमा आफ्नो मनभित्रको पीडा सुनाइन्।

दुर्गादेवीले बोलेको एक वाक्यले सात वर्षसम्म राज्यले दिएको आश्वासन, अनुसन्धानका नाममा भएका असफलता र यही अवधिमा एक विवश आमाले भोगेको पीडाको सार बताउँछ।

 

कुनै बेला न्यायका लागि सडकमा उत्रिएकी उनी अव थाकेर बोल्न नसक्ने अवस्थामा छिन्। दुई वर्षयता न्यायका लागि हरेक निकायमा पुगेर उनले बिन्ती गर्न छोडेकी छिन्। उनी दुखिरहने घाउलाई भुल्न खोज्छिन् । तर, छोरीलाई न्याय मिले हुन्थ्यो भन्ने व्यग्र चाह उनमा छ । साथसाथै अब उनलाई कान्छी छोरीको सपना पूरा गर्न सारथि बन्नु पनि छँदै छ।

दुर्गादेवीलाई निर्मलाको यादले हरेक पल सताउँछ। ‘याद त सताउने नै भयो नि! छोरी हो। वर्ष दिन आउँदा झन् बढी याद आउँछ,’ उनले भावुक हुँदै भनिन्। जिवित भएको भए यतिबेला निर्मला २० वर्षकी भइसक्ने थिइन् ।

उनको जीवनका हरेक पाटो निर्मलाको नामसँग जोडिएको छ। निर्मलाको घटनापछि नै सहानुभूतिमा पाएको कार्यालय सहयोगीको जागिरले उनको दिन बित्छ। यो जागिर उनको लागि जीवन चलाउने आधार मात्र होइन, छोरी गुमाउनुको निरन्तरको पीडाको एक सम्झना पनि हो।

 

निर्मलाकी आमा भन्छिन्, ‘त्यसै बिर्सन खोजेर पनि कहाँ सकिन्छ र?’ उनको दैनिकी अहिले त्यही सानो जागिर र छोरीहरूको हेरचाहमा बित्छ। निर्मलाकी एक दिदीको विवाह भइसकेको छ भने कान्छी बहिनी स्नातक तहमा पढ्दैछिन्। दुर्गादेवी त्यही कान्छी छोरीसँग बस्छिन्। कार्यालय सहयोगीको कामबाट आउने सीमित तलबले घर चलाउन र छोरी पढाउन धौ–धौ पर्छ।

‘जति छ, त्यसैमा चलाएर, पुर्‍याएर बसेका छौँ,’ उनले भनिन्। यो संघर्ष निर्मला गुमाउनुको पीडाभन्दा कम छैन, तर एउटी आमाको रूपमा यो जिम्मेवारी पनि हिम्मतका साथ निभाइरहेको उनी बताउँछिन्।

सात वर्षको अवधिमा अनुसन्धानका नाममा जे–जति भयो, त्यसमाथि दुर्गादेवीको रत्तीभर विश्वास छैन। उनलाई लाग्छ, सुरुमै प्रमाणहरू नष्ट गरियो, जसले गर्दा अनुसन्धान कहिल्यै सही बाटोमा गएन।

‘त्यो बेला हामी पीडामा थियौँ। प्रमाण मेटाएरै यस्तो भयो भन्ने लागेको थियो। राम्रोसँग नहेरिदिएरै यस्तो भएको हुनुपर्छ,’ उनले भनिन्।

उनको आशंका, यो प्रकरणलाई नजिकबाट नियाल्ने धेरैको साझा बुझाइ हो।

सरकार र राजनीतिक दलका नेताहरूले दिने अभिव्यक्ति उनलाई अब नाटकजस्तो लाग्छ। गृहमन्त्रीहरू फेरिएपिच्छे ‘हत्याराको नजिक पुग्यौँ’ भन्ने आश्वासन सुन्दा सुन्दा उनी वाक्क भइसकेकी छन्।

 

‘त्यो त पीडितलाई अलि आशा देखाउने मात्रै हो। गर्ने कोही रहेनछन् भन्ने लाग्छ मलाई,’ उनले भनिन्। आफ्नै क्षेत्रका नेता रमेश लेखक गृहमन्त्री हुँदा पनि उनलाई कुनै फरक महसुस भएको छैन। उनी भन्छिन्, ‘उहाँहरूले के गर्नुहुन्छ, उहाँहरूलाई नै थाहा होला। हामीलाई केही जानकारी छैन, केही भन्नुभएको पनि छैन।’ उनको यो उदासीनताले राज्यका निकाय र राजनीतिक नेतृत्वप्रतिको चरम अविश्वासलाई दर्साउँछ।

निर्मलाको घटनाले मात्र होइन।  दुर्गादेवीको जीवन सुरुदेखि नै संघर्षपूर्ण रह्यो। ७ कक्षा पढ्दापढ्दै आमाबुबा बितेपछि उनको पढाइले निरन्तरता पाउन सकेन। १८–१९ वर्षको कलिलो उमेरमै उनको विवाह भयो। तर, पारिवारिक जीवन पनि सोचेजस्तो सहज रहेन। निर्मलाको घटना हुनुभन्दा धेरै वर्षअघिदेखि नै उनी आफ्ना छोरीहरू च्यापेर एक्लै संघर्ष गरिरहेकी थिइन्। ‘श्रीमान्ले दोस्रो बिहे गरेपछि उनले छोरीहरू सानै छँदादेखि एक्लै संघर्ष गरेँ। १७–१८ वर्ष भयो होला मैले यसरी दुःख गर्न थालेको,’ उनी आफ्नो विगत सुनाउँछिन्। ४२–४३ वर्षको उमेरमा उनले जीवनका अनेकौँ उतारचढाव भोगिसकेकी छन्। त्यसैमाथि उनको जीवनमा यस्तो बज्रपात पर्‍यो ।

 

यति धेरै पीडा र धोका भोगिसकेपछि पनि दुर्गादेवीको मनमा कसैप्रति आक्रोश र घृणा छैन।

 

‘कसैलाई गाली गरेर वा विरोध गरेर अब म के गर्नु सक्छु ? कसैलाई केही भन्नु छैन, जति भोगेँ, त्यो मलाई मात्र थाहा छ,’ उनले भावुक हुँदै भनिन्।

तर, उनको मनको एउटा कुनामा अझै पनि न्यायको झिनो त्यान्द्रो बाँकी छ। उनी चाहन्छिन्, ढिलै भए पनि अपराधीले सजाय भोगोस् र निर्मलाको आत्माले शान्ति पाओस्  । ‘अब यस्तो घटना अरू कसैमाथि नहोस् र म जस्तै राज्यप्रति न्यायका लागि अरू आमाले विश्वास नगुमाउनु,’ उनले भनिन्।