३२ असार २०८२, बुधबार

सुर्खेतमा नक्कली नाेट छाप्ने मिडिया हाउसका संचालक सहित ५ जना पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक मिडिया हाउसका संचालक सहित पाँच जनालाई पक्राउ गरेकाे छ ।

मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको हाे ।प्रहरीले करिब १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा बढी अफिम जस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीका अनुसार, एक गोप्य सूचनाको आधारमा प्रहरीले यो सञ्जाल तोड्न सफल भएको हो ।

शाहीले भने, ’यो एक सङ्गठित अपराधको सञ्जाल हो । हामीले यसको गहिराइसम्म पुगेर अनुसन्धान गरिरहेका छौँ। मिडियाजस्तो सम्मानित क्षेत्रको आवरणमा यस्तो अवैध गतिविधि हुनु निकै गम्भीर विषय हो ।’

‎यसरी खुल्यो रहस्य

‎प्रहरीका अनुसार यो अपरेसनको सुरुवात सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलबाट भएको थियो । प्रहरीले नक्कली नोट चलाउँदै गरेको अवस्थामा जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई ६ हजार नक्कली रुपैयाँसहित पक्राउ गरेको थियो ।

‎उनको बयानको आधारमा प्रहरीले सोही दिन जाजरकोट कुशे गाउँपालिका–५ कै ३३ वर्षीय राम बहादुर सिंहको डेरामा छापा मारी १२ लाख ३६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गर्‍यो ।

‎अनुसन्धानलाई थप अगाडि बढाउँदै प्रहरीले जाजरकोटकै कुशे गाउँपालिका–७ का ३५ वर्षीय कृष्ण बहादुर वलीलाई भेरीगंगा नगरपालिका–१२ बाट ११ किलोग्राम ३७२ ग्राम अफिमजस्तो देखिने पदार्थसहित पक्राउ गर्‍यो ।

‎‎मिडिया हाउसमा छापा, नोट छाप्ने मेसिन बरामद

‎यही गिरोहको अनुसन्धान गर्ने क्रममा प्रहरी टोली बाँकेको कोहलपुरसम्म पुग्यो ।‎कोहलपुर नगरपालिका–११, न्यूरोडमा रहेको “जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउसमा छापा मार्दा प्रहरीले नक्कली नोट छाप्ने कारखाना नै फेला पारेको थियो ।

‎कार्यालयका सञ्चालक कालिकोट नरहरिनाथ गाउँपालिका–९ घर भएका ३४ वर्षीय मन बहादुर सहकारी र एक अन्य व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‎मिडिया हाउसबाट प्रहरीले थप ५१ हजार रुपैयाँ नक्कली नोट, १९ किलो ३०० ग्राम अफिमजस्तो देखिने पदार्थ, र नोट छाप्न प्रयोग हुने क्यानोन, प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायतका उपकरणहरू बरामद गरेको छ ।

‎जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ परेका सबैलाई हिरासतमा राखी खोटा मुद्रा र लागुऔषध (अफिम) सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

‎यो घटनाले अपराधका नयाँ शैलीहरू र त्यसलाई ढाकछोप गर्न अपनाइने तरिकाहरूलाई सतहमा ल्याइदिएको प्रहरी प्रमुख शाहीले बताए ।

पक्राउ परेकाहरुमाथि लागुऔषध तथा जाली नोट कारवारी उद्योगमा मुद्दा चलाउने तयारी रहेको शाहीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकाहरुले झण्डै दुई लाख रुपैयाँ सक्कली नोटसँग साटिसकेकाले कारोवार गर्दा सचेत रहन प्रहरी उपरीक्षक शाहीले अनुरोध गरेका छन् ।

ति नक्कली नाेटहरूमा अफिम खरिदका लागि व्यापारीहरूलाइ दिएकाे र प्रायः सुर्खेत, जाजरकाेट जिल्लाहरू ती नाेट बाडिएकाे पक्राउ परेकाहरूले बताएकाे प्रहरीकाे भनाइ छ । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषध नियन्त्रणको अभियानलाई तीव्र बनाएको छ ।

‎पक्राउ पर्नेहरू:

दिलमाया सिंह ठकुरी, २२ वर्ष, जाजरकोट

‎राम बहादुर सिंह, ३३ वर्ष, जाजरकोट

‎कृष्ण बहादुर वली, ३५ वर्ष, जाजरकोट

‎प्रेम बहादुर वि.क., ३८ वर्ष, जाजरकोट

‎मन बहादुर सहकारी, ३४ वर्ष, कालिकोट (जनगर्जन नेटवर्क प्रा.लि.का सञ्चालक)