११ श्रावण २०८१, शनिबार

डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै उम्मेदवारी नदिएको बताएका छन् ।

२३ असोज, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ताका लागि गोरखा आएका उनले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको समेत बताएका छन् ।

‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुशी छु ।’

छोटो अवधिमा भएपनि आफ्नो पालामा गोरखामा विकासका केही पूर्वाधार बनेको बताउँदै उनले प्रचण्डको आगमनले त्यही जगमा टेकेर समृद्धिको महल खडा हुने बाटो खुलेको समेत बताए ।‘गोरखाले अब साच्चै नै इतिहास निर्माण गर्ने अवसर पाएको छ, समृद्धिको युगमा नयाँ उत्साह हासिल गर्न अब गोरखाले त्यो अवसर पायो त्यसका लागी म हर्षित छु’, भट्टराईले भने । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी गोरखा–२ मा प्रचण्डका प्रस्तावक समेत रहेका छन् ।