पाेखरा :म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ।
रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना मार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसंख्या लाभान्वित भएका छन्। घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाले बताए।
उनका अनुसार नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको रु. ३३ लाख ३७ हजार तीन सय २५ र मालिका गाउँपालिकाको रु १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले रु १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन्।
पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ। चार वटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुख्य र शाखा पाइपलाइन मार्फत नौ वटा ट्याकी बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए।
म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारा मार्फत खानेपानी उपभोक्ता गर्दै आएका थिए। करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जीर्ण हुँदा पानी आपूर्ति र वितरणमा समस्या भएको थियो।
घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झञ्जटबाट मुक्ति, सरसफाइमा सहज भएको स्थानीयवासी बलबहादुर रोकाले बताए। उपभोक्तामा खुसीयाली छाएको उनले बताए। धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ। पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ।
मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१ /८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुम्पीपार र डाडागाउँमा तीन वटा योजना निर्माण भएको छ। ती योजनाहरूबाट चार सय घरपरिवार लाभान्वित भएको वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताए। डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए। रासस