९ असार २०८२, सोमबार

नवौँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन सम्पन्न

– माधव घिमिरे ‘अटल’

‘पथप्रदर्शकहरूको सम्मान र पहिचान, दिगो र गुणस्तरीय पर्यटनमा हाम्रो योगदान’ मूल नाराका साथ टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को नवौँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन राजधानी काठमाडौँमा सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे हुनुहुन्थ्यो भने विशिष्ट अतिथि हुनुहुन्थ्यो-
पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा । त्यसैगरी मध्यपुर थिमी नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ अर्का विशिष्ट हुनुहुन्थ्यो । त्यस्तै विशेष अतिथिहरूमा टानका अध्यक्ष सागर पाण्डे, भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला पाण्डे देवकोटा, नाथमका विभागीय प्रमुख डा. अजय ढकाल, नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रकुमार देव भट्ट लगायतका व्यक्तित्वहरू अतिथि हुनुहुन्थ्यो ।

प्रमुख अतिथि माननीय मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बृहत क्षेत्र भएकाले यसमा सरकार एक्लैले केही गर्न नसक्ने अनुभूति साझा गर्दै सहकार्य अत्यावश्यक भएको बताउनुभयो । बजेट थोरै भएकाले यावत् समस्या आजै समाधान नहोलान् तर विधान बनाइदिँदा अर्थतन्त्र चलायमान बनाउन सहज हुने आफ्नो ठहर रहेको उहाँको भनाइ थियो । पर्यटन मन्त्रालयमा आउने हरेकले न्यानो आतिथ्य अनुभूत गराउन आफू दत्तचित्त रहेको उहाँको कथन थियो । नेपालीले असल संस्कार दिन सक्छन् भन्ने उदाहरण पथप्रदर्शकले प्रदर्शन गर्न सक्ने भन्दै पाण्डेले देशभक्तिको सन्देश यहीँबाट अभिव्यक्त हुने दाबी गर्नुभयो । उहाँले पथप्रदर्शकलाई व्यावसायिक मात्र नभई भावनात्मक बन्न घुमाउरो ढङ्गबाट आग्रह गर्नुभयो । पथप्रदर्शकले राम्रो गर्दा पर्यटन क्षेत्र राम्रो हुने र नगर्दा नहुने भन्दै पर्यटनको केन्द्र भागमा यही संस्था रहेको उहाँको स्पष्टोक्ति थियो ।
टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले यो
गन्तव्य सुधार र संरक्षणको युग भएकाले पथप्रदर्शकहरूमा भाषा, धर्म, भूगोल र इतिहासको राम्रो ज्ञान हुनुपर्ने खाँचो औँल्याउनुभयो । अहिले पथप्रदर्शकहरू अर्धरोजगार मात्र रहेको, उनीहरूलाई तालिम र प्रशिक्षणको अभाव भएको, इजाजतपत्र नवीकरण झन्झटिलो रहेको, सङ्कट व्यवस्थापन पुनर्ताजगी तालिम नियमित रूपमा हुन नसकेको, हजारौँ पर्यटकलाई नेपाल चिनाउने एउटा पथप्रदर्शकको आफ्नो परिचय भने गुमनाम रहेकोमा दुखेसो व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यो नपा जीवित सङ्ग्रहालय भएको दाबी गर्दै मूर्त र अमूर्त सम्पदाले यो नपा सुपरिचित भएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष तथा विशिष्ट अतिथि रामप्रसाद सापकोटा (कमल)ले ट्याक्स, भ्याट अवैज्ञानिक भएको बताउँदै पर्यटन बोर्डले झन्डै तीन दर्जन कार्यक्रम विदेशमा सुसम्पन्न गरेको अवगत गराउनुभयो । यसरी नै स्वदेशमा पनि विभिन्न पर्यटन प्रवर्धन मार्टहरू सञ्चालित भएका जानकारी दिँदै पर्यटन बोर्डले निजी क्षेत्रलाई प्रवर्धन गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

शुभकामना मन्तव्यको सुरूआत गर्दै पर्यटन प्रहरीका अधिकृतले शङ्कास्पद व्यक्ति वा घटनामा आफूहरूलाई सूचना प्रदान गर्न आग्रह गर्नुभयो ।
टानका अध्यक्ष सागर पाण्डेले पहिलोपल्ट नेपाल आउनेहरू हिमाल सम्झेर आउँछन् भने अर्को पटक हाम्रो व्यवहार सम्झेर भन्ने बताउँदै वर्तमान अध्यक्ष थानेश्वर देवकोटाले अनेक खाले कार्यक्रम गरेर पर्यटन प्रवर्धनमा अविस्मरणीय गुन लगाएको बताउनुभयो । पाण्डेले पनि पर्यटनका हरेक गतिविधि सरोकारवालाले संयुक्त रूपमा सम्पादन गर्न आग्रह गर्नुभयो । यथार्थतः पर्यटन क्षेत्र कुपोषणमा हुर्केको उहाँको दाबी थियो । उपत्यका पर्यटन कार्यालय प्रमुख भक्तबहादुर भण्डारी, नाथमका विभागीय प्रमुख डा. अजय ढकाल, पर्यटन बोर्डका नव मनोनीत सदस्य नरेन्द्रकुमार देव भट्ट, टानका पूर्व अध्यक्ष दीपक महत लगायतले कार्यक्रम उपलब्धिमूलक हुनुपर्ने अपेक्षा गर्दै कार्यक्रमको भव्य सफलताको कामना गर्नुभयो ।
थानेश्वर देवकोटाले अध्यक्षता गर्नुभएको सो कार्यक्रमको सहजीकरण टुर्गानकै महासचिव टङ्कप्रसाद दुवाडीले गर्नुभएको थियो।