१९ जेष्ठ २०८२, सोमबार

कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

जाजरकोट :कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी टालेगाउँको आयोजनामा आयोजित औपचारिक कार्यक्रममा वडाका कार्यवाहक वडाध्यक्ष तप्त बहादुर सिंहको उपस्थितिमा उक्त घोषणा गरिएको हो।

स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष ०८१/८२ मा वडाका ० देखि १६ महिनासम्मका ४५ जना र १६ देखि २३ महिनासम्मका ५२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। उनका अनुसार वडामा कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नदिइएको छ।

प्रमुख बस्नेतले बाल्य अवस्थाबाटै प्रदान गरिने आधारभूत स्वास्थ्य सेवाको नियमितता कायम गर्न स्वास्थ्य चौकीले निरन्तर पहल गर्दै आएको जानकारी दिए। उनले खोप अभियानलाई अझ प्रभावकारी बनाउने प्रयास निरन्तर जारी रहेको बताए।

कार्यक्रममा कार्यवाहक वडाध्यक्ष सिंहले खोप अभियानले वडामा बालबालिकाको सुरक्षा तथा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यो उपलब्धिलाई वडाको गर्वको विषय भएको बताए। उनले खोप कार्यक्रमलाई बालबालिकाको सुरक्षित भविष्य निर्माणका लागि अत्यावश्यक र प्रभावकारी माध्यमको रूपमा चित्रण गरे।

सिंहले महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता तथा समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै खोप तथा पोषण सम्बन्धी अभियानहरूमा उनीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको धारणा राखे।

स्वास्थ्य चौकी प्रमुख बस्नेतका अनुसार यसै आर्थिक वर्षमा सम्पूर्ण कुशे गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्ने तयारी भइरहेको छ।