१९ जेष्ठ २०८२, सोमबार

कुमारी फाउन्डेसनले ३ करोडको स्वास्थ्य उपकरण नगर अस्पताललाई हस्तान्तरण गरेकाे छ

जाजरकोट :काठमाडौंको कुमारी फाउन्डेसनले  छेडागाड नगरपालिकाको नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका फाउन्डेसनका अध्यक्ष राजीवबिक्रम शाहले पालिकाका अध्यक्ष रत्नबहादुर खड्कालाई उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लब अफ मुम्बई कप परेडको सहयोगमा कुमारी फाउन्डेसनले पालिकालाई उपकरणहरु उपलब्ध गराएको हो । ‘दुर्गमका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने एउटा सानो सपना पूरा भएको मन्त्री शाहकाे भनाइ छ, मन्त्री शाह भन्छन्, ‘स्वास्थ्य चौकीमा आौषधी र अति आवश्यक उपकरण अभावले नागरिकले अकालमा ज्यान गुमाउनु परेको र दर्दनाक अवस्था देखेरै अस्पताल संचालन गर्ने सोच बनाएको हुँ ।’

मन्त्री शाहकै लगानीमा १५ शैयाकाे अस्पताल निर्माण भएको छ । फाउन्डेसनले डेन्टल, आँखा, गाइनो, बालरोग विभाग, जनरल वार्ड, इएन्टी वार्डमा आवश्यक पर्ने सर्जिकल स्वास्थ्य सामग्री नगर अस्पताललाई उपलब्ध गराएको छ ।

त्यसैगरी प्रयोगशालाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरण पनि फाउन्डेसनले पालिकालाई उपलब्ध गराएको छेडागाड नगरका प्रमुख प्रशासकीय अधिकृत हेमकुमार ढकालले बताए ।

२०६७–०६८ सालमा जाजरकोटमा झाडापखला फैलिँदा करिव दुई सय नागरिकले ज्यान गुमाएका थिए । हजारौं नागरिक प्रभावित भएका थिए । त्यतिबेला पनि शाहले आफ्नै लगानीमा हेलिकप्टर चार्टर गरेर औषधि र चिकित्सक गाउँगाउँमा पुर्याएर रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

मन्त्री शाहले स्वास्थ्य चौकी अभावमा नागरिकले अकालमा ज्यान गुमाउनु परेको दर्दनाक अवस्था देखेरै अस्पताल सञ्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए । त्यही जग्गामा शाहले १५ शैयाको अस्पताल सञ्चालनका लागि पूर्वाधार समेत बनाए । तर चार-पाँच वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने अस्पताल विभिन्न कारणले अलपत्र अवस्थामै रह्यो ।

करिव ७–८ करोडको भौतिक संरचना निर्माण भइसकेकाले फाउण्डेसनबाट प्राप्त उपकरणले स्वास्थ्य सेवा प्रवाहका निमित्त ठूलो भूमिका निर्वाह गरेको उनले बताए । अस्पतालको भौतिक पूर्वाधारमा आवश्यक मर्मत सम्भार गरेर आगामी असार ५ गते भव्य कार्यक्रमका बीच सेवा सुरु गरिने पनि उनले जानकारी दिए ।

यो अस्पताल संचालनमा आए छेडागाड नगरपालिकासहित दैलेख, सुर्खेत र डोल्पासम्मका बिरामीले सेवा पाउने नगर प्रमुख खड्काले बताए ।