१८ जेष्ठ २०८२, आईतवार

भारत-पाकिस्तानलाई युद्ध विरामका लागी जुट्न नेपालका दुई कम्युनिस्ट पार्टीको सुझाव

काठमाडौं : भारत र पाकिस्तान युद्धलाई वार्ता र संवादकाे माध्यमबाट समाधान गर्न नेपालका दुई कम्युनिस्ट पार्टीले सुझाव दिएका छन ।

समाजवादी कम्युनिस्ट पार्टी नेपाल र अखिल नेपाल कम्युनिस्ट पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै भारत पाकिस्तान युद्ध बारे “अहंकार, उन्माद र आवेगमा आधारित अन्यायपूर्ण युद्ध गर्ने पक्षको नै अन्त्यमा पराजय भएको छ, हुन्छ र हुनेछ भनि बताएका छन् ।

महासचिव समरजंग र अध्यक्ष नारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा थप भनिएको छ “वास्तविक कारण र जड कारकहरूको खोजी गरी तिनको समाधान गर्नका लागि पूर्ण स्वविवेक, स्वाधीनता र स्वाभिमानका लागि असाध्यै गम्भीर र संवेदनशील भएर सोचविचार गरी लाग्न भारत र पाकिस्तान दुवै देशका शासकहरूलाई अखिल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल जोडदार अपिल गर्दछौं ।”

विज्ञप्ति जस्ताको त्यस्तै :“भारत-पाकिस्तान युद्धबारे हाम्रो अपिल
२०८२ वैशाख ९ गते तदनुसार २०२५ अप्रिल २२ मा भारत अधीनस्थ जम्मु कास्मिर राज्यको पहलगावमा भएको अप्रिय घटनामा परेर नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना निहत्था र निर्दोष नागरिकको अनाहकमै ज्यान गयो भने अन्य कैयौं घाइते भए। त्यो एक अमानवीय घटना भएकाले हामी त्यो र त्यसप्रकारका घटनाको तीव्र निन्दा र भर्त्सना गर्दछौं। भारतले उक्त घटना पाकिस्तानले गराएको भनी यसको आरोप पाकिस्तानमाथि लगायो । त्यसको प्रतिवादमा पाकिस्तानले उक्त घटना भारतको आन्तरिक मामला भएकाले त्यसमा पाकिस्तानको कुनै हात नरहेकाले घटनाको अन्तर्राष्ट्रिय स्तरबाटै निष्पक्ष छानबिन गर्न माग गर्दै छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनायो। तर यो कुराको कुनै सुनुवाइ नगरी भारतले पाकिस्तानमाथि शक्तिराष्ट्रको अहंकार र उन्मादको फलस्वरूप बलमिच्याइँ गर्दै ‘अपरेसन सिन्दुर’ नामको युद्धयोजना बनाएर हमला नै गर्याे। पाकिस्तानले पनि आफ्नो प्रतिरक्षा र प्रतिरोध गर्दै भारतमाथि जवाफी हमला गर्यो। दुवै देशका तर्फबाट घोषित रूपमा युद्ध सुरु भै चर्किदै गयो । दुवैतर्फ जनधनको धेरै क्षति भयो ।

भारत र पाकिस्तान दुवै हाम्रा छिमेकी राष्ट्र हुन्। यी दुवै राष्ट्र UNO र SAARC मा आबद्ध छन् । यी आणविक हतियारसम्पन्न राष्ट्रसमेत हुन्। यस्ता राष्ट्रबीचको युद्धले समस्त SAARC राष्ट्रहरू नजिकबाट प्रत्यक्ष प्रभावमा पर्नेछन् भने यसका बाछिटा विश्वभरि नै परेर ध्रुवीकरण बढेमा विश्वयुद्ध निम्तिने र आणविक युद्धसमेत हुने खतरा छ । यस्तो भएमा अनाहक जन-धनको अकल्पनीय क्षति हुने निश्चित छ। यो भयावह परिणाम हुन नदिन दुवै राष्ट्रलाई संवादको माध्यमद्वारा समस्याको समाधानमा जुट्न हामी आग्रह गर्दछौं। भारत-पाकिस्तानबीच लामो समयदेखि बल्झिरहेको कास्मिर मामिला संयुक्त राष्ट्रसङ्घको पहल र मध्यस्थतामा समाधान गर्न पनि हामी आह्वान गर्दछौँ।

हाम्रा यी छिमेकी राष्ट्रहरूबीच हुने संवाद, सम्झौता र शान्ति अनि एकता, मित्रता र सहकार्यले SAARC राष्ट्रहरूबीच आएको गतिरोध हट्‌नुका साथै सार्क क्षेत्रबाटै विश्वमा एकता र मित्रता अनि सहयोग र विकासको सन्देश र प्रभाव दिन सकिनेमा हामी आशावादी छौं।

स्मरणीय छ, विगतका दुई दशकभित्रै भारत र पाकिस्तानबीचमा ३/३ पटक भएका अनावश्यक युद्धले आर्थिक क्षेत्रमा ठूलो क्षति पुयाएको थियो भने मानवीय क्षेत्रमा पनि दुई देशका नागरिक र दुई धार्मिक समुदाय हिन्दु र मुस्लिम समुदायमा वैमनस्य बढाएको छ। यस कुरालाई समेत मनन गरेर शान्ति कायम राख्नुका साथै आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाएर समृद्धिमा पुग्न सकिने सम्यक ज्ञान यी दुवै देशलाई प्राप्त होस् भन्ने अपेक्षा पनि गर्दछौं। स्पष्ट छ अहंकार, उन्माद र आवेगमा आधारित अन्यायपूर्ण युद्ध गर्ने पक्षको नै अन्त्यमा पराजय भएको छ, हुन्छ र हुनेछ ।

यसै कारणले होस् वा अन्य कारणले होस्, मे १०, २०२५ मा मात्रै दुवै राष्ट्रहरू संवादको माध्यमद्वारा समस्याको समाधान गर्न तयार भै युद्धविराम गर्न सहमत भएका छन्। यो सराहनीय पक्ष हो। यो युद्धविरामलाई इमानदारी साथ पालना गर्न र बारम्बार युद्ध हुने वास्तविक कारण र जड कारकहरूको खोजी गरी तिनको समाधान गर्नका लागि पूर्ण स्वविवेक, स्वाधीनता र स्वाभिमानका लागि असाध्यै गम्भीर र संवेदनशील भएर सोचविचार गरी लाग्न भारत र पाकिस्तान दुवै देशका शासकहरूलाई अखिल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल जोडदार अपिल गर्दछौं ।

पूर्णबहादुर सिंह ‘समरजङ्ग’
महासचिव
समाजवादी कम्युनिस्ट पार्टी नेपाल

नारायण शर्मा
अध्यक्ष
अखिल नेपाल कम्युनिस्ट पार्टी

२९ वैशाख २०८२ (११ मे २०२५)”