काठमाडौं। रूकुम पश्चिममा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
तुलसीपुरका ५० वर्षीय नरबहादुर वलीको घटनास्थल मै मृत्यु भएको जिल्लाका निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकले सेतोपाटीलाई बताए।
दुर्घटनामा परी ४४ वर्षीया लिला वली, ५० वर्षीया दुर्गा वली र गाडी चालक तुलसीपुर–७ का ४४ वर्षीय लिलामणि भण्डारी गम्भीर घाइते भएका छन्।
घाइते तीनै जनाको जिल्ला अस्पताल चौरजहारीमा उपचार जारी छ ।
कुलपूजा सकेर दाङ फर्कने क्रममा उनीहरू सवार जिप सोमबार लु.प्र ०२–००१ च ०१७७ नम्बरको जिप दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमालटाकुराको सिम्लीदेखि तिमिले जोड्ने भित्री सडकमा ब्रेक फेल भई दुर्घटनामा परेको थियो। जिप झन्डै पाँच सय मिटर तल खसेको थियो। माथिल्लो बाटोबाट दुर्घटनामा परेको जिप तल्लो सडकखण्डमा पुगेको प्रहरीले जानकारी दिएको छ।
तीब्र गतिका कारण जिप दुर्घटनामा परेको आशंका प्रहरीको छ । दुर्घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले बताएको छ।