काठमाडौँ । काठमाडौँ महानगरपालिका–२० स्थित परोपकार पुलमुनि वैशाख १६ मा एक जना पुरुष अचेत अवस्थामा भेटिए । पौने १२ बजेतिर अचेत अवस्थामा भेटिएका काभ्रे भुम्लुका ४३ वर्षीय विक्रम तामाङ ‘माइला’को ट्रमा सेन्टरमा मृत्यु भयो ।
उनको चक्कु प्रहारबाट हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त जनसेवाको टोलीले सिन्धुपाल्चोक घर भएका आशिष् श्रेष्ठलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय श्रेष्ठले चक्कु प्रहार गरेर तामाङको हत्या गरेका हुन् । पिसाब फेरेको निहुँमा विवाद हुँदा श्रेष्ठले उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।
आशिष् श्रेष्ठ सँधैजसो बिहान १० बजेतिर व्यायाम गर्न कालीमाटी जाने गरेका थिए । परोपकार पुलमुनि पिसाब फेर्दा तामाङले उनलाई गाली गर्थे । दुई तीन पटक ‘किन पिसाब फेरेको’ भनेपछि आरोपीले तामाङलाई आक्रमणको योजना बनाएको एसपी जिसीले बताए ।
वैशाख १६ मा फोल्डिङ चक्कु लिएर उनी डेराबाट निस्किए । पुलमुनि पुग्दा तामाङ सुरिहेको देखेपछि चक्कुले घोपेर उनले हत्या गरे । तामाङ सँधै पुलमुनि बसेर ठेलागाडा ठेल्ने काम गर्दै आएका थिए । आशिषले चक्कु प्रहार गर्न थालेपछि तामाङले प्रतिवाद गरे । प्रतिवाद गर्दा आशिषको हातमा चोट लागेको भेटिएको छ ।
चक्कु प्रहारबाट तामाङको पेट, छाती र ढाडमा चोट लागेको छ । बिहान १० बजेतिर हत्या गरेर फरार भएका श्रेष्ठलाई भोलिपल्ट डल्लुबाट पक्राउ गरिएको एसपी जिसीले जानकारी दिए । पक्राउ परेपछि उनले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘त्यहाँबाट चक्कु झोलामा राखेर हिँडे, हातमा चोट थियो मेडिकलमा उपचार गराएँ ।’
डल्लुमा बसेर उनी कम्प्युटर टाइपिङको काम गर्दै आएका थिए ।