६ बैशाख २०८२, शनिबार

वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ।

 

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको हो।

वैशाख ७ गते निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

 

‘पार्टीले पूर्वनिर्धारित कार्यक्रमअनुसार बैशाख ७ गते कथित निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ,’ उनले भने।

वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय पनि भएको उनले जानकारी दिए।

 

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत चैत १५ को प्रदर्शनमा सहभागी भएकाहरूलाई रिहाइको माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने निर्णय पनि राप्रपाले गरेको छ।

 

प्रहरी अनुसन्धानमा रहेका मिश्र र राणासहितलाई रिहाइ गर्न माग गर्दै कानुनी एवं राजनीतिक लडाईंलाई निरन्तरता दिने पनि कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको राप्रपाले जनाएको छ।

आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति बनाउने र आन्दोलन एवं संगठनका अभियान चलाएर सबै नेतालाई गाउँगाउँ र वडातहसम्म पुर्‍याउने निर्णय बैठकले गरेको छ।