१९ चैत्र २०८१, मंगलवार

गन्तव्य परिचयात्मक तथा प्रवर्धनात्मक दुई दिने कार्यक्रम सम्पन्न

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय र गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल(भिटोफ- नेपाल)को संयुक्त आयोजनामा सञ्चालित दुई दिने गन्तव्य परिचयात्मक तथा प्रवर्धनात्मक कार्यक्रम एवम् नुवाकोट भ्यू सामुदायिक होम स्टे तथा सरोकारवालाहरूसँग अन्तरक्रिया र छलफल कार्यक्रम नुवाकोट दरबार क्षेत्रमा सुसम्पन्न भएको छ ।

प्रमुख अतिथिको रूपमा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी थिए भने विशेष अतिथि विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी ,त्यस्तै अतिथिहरूमा टानका पूर्व अध्यक्ष सुमन पाण्डे, टानका पूर्व अध्यक्ष तथा निटका अध्यक्ष दीपक महत, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)का अध्यक्ष थानेश्वर देवकोटा, भिटोफका सल्लाहकार डा.आलोक प्रसाई, भिटोफका पूर्व अध्यक्ष शिव लामिछाने, अर्का सल्लाहकार दीपक दाहाल  दुई दिने कार्यक्रमको अन्तिम शृङ्खलाका रूपमा आयोजित कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि सुवेदीले ब्यानर वाचन गरी गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अभ्यागत दीपेन्द्र सुवेदीले पर्यटन प्रवर्धनको क्षेत्रमा विशेष योगदान दिने मूर्धन्य व्यक्तित्वहरूप्रति कृतज्ञता प्रकट गरे । यो क्षेत्रमा धेरै लामो अनुभव नभए पनि पर्यटन ऐनलाई केही संशोधन गरी नीतिगत तथा अन्य पर्यटकीय सुधार गर्ने उनले वाचा गरे।

कला, सम्पदाको पहिचान, वर्गीकरण संरक्षण गर्न नीतिगत ढङ्गबाट अगाडि बढ्ने आफूहरूको लक्ष्य रहेको उनको स्पटोक्ति थियो । बागमती प्रदेशको विशेष केन्द्र र पर्यटकीय गन्तव्यका रूपमा चितवनको सौराहलाई घोषणा गर्ने, हरेक जिल्लामा पर्यटन सूचना केन्द्र बनाउने, हरेक जिल्लाका विशिष्टतालाई समेटी ‘ट्राभल बुक’ प्रकाशित गर्ने उनले वाचा गरे । रत्ननगर उपमहानगरपालिकाले निर्माण गर्दै गरेको ‘हरियाली पार्क’ निर्माणमा पनि स्थानीय तहसँग प्रदेशले सहकार्य गर्ने, रैथाने खाना प्रवर्धन गरी अतिथि सत्कार गर्ने, होम स्टे सञ्चालकलाई तालिम प्रदान गर्ने, मोटो रकमको अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त ब्याजबाट स्थानीय जात्रा र पर्वहरूलाई सञ्चालनमा सहयोग गर्ने,’प्याराडाइज वागमती’ एप निर्माण गर्ने, ‘टुरिजम इन वागमती’ वेबसाइट बनाउने, करोडौँ भ्युअर र सब्क्राइबर भएका युट्यबरहरूलाई घुमाएर उनीहरूलाई युट्यबमा ‘भिजिट बागमती’ राखिदिन प्रोत्साहित आफ्नो महत्त्वाकाङ्क्षी योजना सुनाए ।

विदुर नपाकी उपप्रमुख तथा कार्यक्रमकी विशेष अतिथि प्रभा बोगटीले ६०,००० जनसङ्ख्या रहेको विदुर नपाको ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको विकासमा नपाले यथोचित ध्यान दिएको विषय उपस्थित पाहुनाहरूले अवलोकनको सिलसिलामा अनुभूत गरेको हुनुपर्ने अभिमत प्रकट गरिन् । उनले पर्यटन पूर्वाधार विकास गर्न नपाले कुनै कसर बाँकी नराख्ने आफ्नो प्रण दोहोर्‍याइन् । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले भिटोफले ग्रामीण पर्यटन प्रवर्धनका निम्ति अत्यन्त फलदायी कार्यक्रम सम्पन्न गरेकोमा संस्थालाई हार्दिक बधाई दिए ।

सल्लाहकार डा.आलोक प्रसाईले पर्यटन प्रवर्धनको सम्बन्धमा छलफल गर्दा हिजो विभिन्न मठ, मन्दिर, पवित्र नदीका दोभान, रमणीय उद्यान, सालिकदेखि आज सूर्यगढीको गढीको चुली चुम्दासम्म जेजति अवलोकन गरियो त्यो स्मरणीय रहनेछ तर अब यी सम्पदाबाट स्थानीयवासीले प्रत्यक्ष लाभ लिन नसक्दासम्म हाम्रो अभीष्ट अधुरै रहनेछ भन्ने आफ्नो व्यक्तिगत अनुभव पस्किए । भिटोफका पूर्व अध्यक्ष शिव लामिछानेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै किन यही भूगोललाई यो गरिमामय कार्यक्रम सञ्चालन गर्ने थलो बनाइयो भन्नेबारे आफ्नो महत्त्वपूर्ण एवम् तार्किक विचार राखे ।

अर्का अतिथि टानका पूर्व अध्यक्ष तथा निटका अध्यक्ष दीपक महतले कुनै गाउँलाई माथिबाट घोषणा गर्दैमा त्यहाँ पर्यटन फस्टाइ हाल्ने भन्ने नभई न्यूनतम पूर्वाधार र पाहुनालाई गर्ने व्यवहारले त्यसको निर्धारण गर्दछ भन्दै ग्रामीण पर्यटन विकासका निम्ति चुस्त घरबास पर्यटन व्यवसायले दिगो रूपमा अघि बढाउन सक्ने विभिन्न अध्ययनले सिद्ध गरिसकेको दाबी गरे । तर यसखाले महत्त्वपूर्ण कार्यक्रमप्रति समेत स्थानीयको आकर्षण जाग्न वा जगाउन नसक्नु आयोजकको सीमा भएको महतले बताए ।

टानका पूर्व अध्यक्ष तथा पाटा अन्तर्राष्ट्रियका उपाध्यक्ष सुमन पाण्डेले होम स्टेका संस्थापक अध्यक्ष श्यामलाल प्रधान भएकाले तथा घरबास सुदृढ बनाउन उनको अतुलनीय योगदान रहेकाले आजको कार्यक्रम अत्यन्त सान्दर्भिक रहेको जिकिर गरे । भोलिको पर्यटन विकास आजको होम स्टेको विकासले निर्धारण गर्ने उनको कथन थियो । नुवाकोट सम्पदा गाउँ बनाउने आफ्नो सपना अहिले बनेका संरचनाले साकार पार्ने बाटोमा अग्रसर भएको पाण्डेले दाबी गरे ।

भिटोफ नेपालका महासचिव चोपेन्द्रबहादुर खड्काले सहजीकरण गरेको उक्त दुई दिने कार्यक्रमको अन्तिम सत्रलाई सम्बोधन गर्दै अध्यक्ष सकुन्तला देवकोटा पाण्डेले भिटोफका मूल ध्येयबारे आफ्नो सारगर्भित मन्तव्य व्यक्त गरिन् ।

उनले विशिष्ट अभ्यागतहरूलाई धन्यवाद ज्ञापन गर्दै दुई दिने कार्यक्रमको बिट मारिन् ।