१८ चैत्र २०८१, सोमबार

नेकपा (एस) जाजरकोटले छैटौं जिल्ला अबिधेशनका लागी रेडपाण्डा अंकित लोगो सार्वजनिक गरेकाे छ

जाजरकोट :नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले छैटौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम खलंगामा बुधबार पत्रकार सम्मेलन गरेर नेकपा (एस), जाजरकोटले छैटौं जिल्ला अबिधेशनको लोगो सार्वजनिक गरेको हो ।

यही चैत्र २५—२६ गते छैटौं जिल्ला अधिवेशनको आयोजना गरिएको नेकपा (एस) का केन्द्रीय सदस्य तथा जाजरकोट ईन्चार्ज कृष्ण विसीले जानकारी दिए ।

छैटौ जिल्ला अबिधेशनको मुल नारा ‘सुशासन र रोजगारी, समाजवादको तयारी ।’ रहेको बिसीले बताए । छैटौं जिल्ला अधिवेशनको लोगोमा विश्वमै दुर्लभ मानिएको रेडपाण्डा, खलंगा बजार, नेपालको झण्डा, पार्टीको चुनाव चिन्ह, कम्युनिष्ट पार्टीको झण्डा समावेश गरिएको छ ।महासचिव घनश्याम भुसालको प्रमुख आथित्यतामा छैटौं जिल्ला अबिधेशनको उद्घाटन गरिने जिल्ला इन्चार्ज विसीले जानकारी दिए । अहिले मुलक संकटमा रहेको विसीले बताए । उनले भने, ‘अहिले मुलक निकै संकटमा छ, राजावादीहरु सडकबाट कराईरहेका छन् भने, सत्तामा रहेका पार्टीहरुले एकपछि अर्काे जनविरोधी गतिविधी गरिरहेका छन् ।’ यो संकटबाट बच्न, देशलाई जोगाउन गणतन्त्रवादी दलहरु एक भएर जान आवश्यक रहेको विसीले बताए ।

जिल्ला अधिवेशनमा कुशे गाउँपालिकाको खाँडो नाच, राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती, झाँकी सहित भव्य रुपमा सम्पन्न गर्ने तयारी रहेको एकीकृत समाजवादी जाजरकोटले जनाएको छ ।