१९ चैत्र २०८१, मंगलवार

को हो २५ करोडको मालिक, पत्ता लाग्ला?

काठमाडौं । २५ करोड रुपैयाँभन्दा बढी रकम बराबरको विदेशी मुद्रासहित समातिएका कुशाङ लामा अहिले प्रहरी र राजस्व अनुसन्धान विभाग दुबैको अनुसन्धानको घेरामा छन्।

१३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर कसको हो भन्ने चासोको विषय बनेको छ। सामाजिक सञ्जालमा उक्त नगद कसको हुनसक्ने भनेर टीकाटिप्‍पणी हुन थालेका छन्।

 

तर अहिलेसम्म उक्त रकम कसको हो भन्ने खुलिसकेको छैन।

रकम बोक्ने कुशाङले पनि यसबारे खुलाएका छैनन्।

नारायणी प्रदेश-७ ख १६५२ नम्बरको ट्रक चालक कुशाङ ‘भरिया’को रूपमा प्रयोग भएका व्यक्ति रहेको प्रहरीको भनाइ छ। तर प्रहरीले कुशाङलाई सामान्य भरियाको रूपमा मात्रै पनि हेरेको छैन।

 

पाँच वर्ष सुन तस्करीकै मुद्दामा जेल समेत परिसकेका व्यक्ति भएकाले उनी जाने/बुझेकै भरिया रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।

कुशाङले प्रहरीलाई समेत रणभुल्ल पार्न सक्ने भन्दै सचेत रहेको एसपी आचार्यले बताए।

‘उनले भनेका कुराहरू पनि अहिले तत्कालै पत्याउन सकिने खालको छैन। यी व्यक्तिमाथि गम्भीर तरिकाले अनुसन्धान गर्नुपर्ने जरूरी छ,’ उनले भने, ‘प्राविधिक रूपमा हामीले गर्नुपर्ने अनुसन्धान गरिरहेका छौं।’

बयानमा लामाले रकम सामाखुसीमा कसैले राखिदिएको बताए पनि त्यो रकमको स्रोत र धनी खुलेको छैन।

 

 

‘मालिक थाहा पाएको भए त अनुसन्धान गर्न सजिलो हुन्थ्यो। तर यो मान्छे प्रोफेसनल छ। पाँच वर्ष जेलमा बसेको मान्छे, त्यहाँ बस्दा सयौं अपराधीसँग भेटेको हुन्छ,’ उनले भने, ‘के बोल्ने के नबोल्ने भन्ने कुरा राम्ररी थाहा छ। त्यही भएर पनि विश्वास गर्न सकिने अवस्था छैन। अहिलेसम्म यसैको हो भनेर प्रगति छैन।’

ट्रकमा रकम राख्न आउने व्यक्ति पनि नचिनेको भन्दै कुशाङले प्रहरीलाई बयान दिँदै आएका छन्।

अहिले प्रहरीले रकम ल्याउन सक्ने सम्भावना र पुर्‍याउने ठाउँबारे अनुसन्धान गरिरहेको पनि एसपी आचार्यले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कुशाङले उक्त ट्रक बोकेर रसुवागढी नाकासम्म पुर्‍याउँथे। त्यहाँबाट रसुवाकै मानिस वा भिसा प्राप्त व्यक्तिले केरूङ पारि पुर्‍याएर सुन भित्र्याउनका लागि काम गरेको देखिएको प्रहरीको भनाइ थियो।

तर अहिले कुशाङ पक्राउ परे पनि अन्य व्यक्तिहरू पक्राउ पर्नसक्ने देखिन्न।

 

 

‘पक्राउ परेपछि उनको मोबाइलमा केही फोनहरू पनि आएका छन्। अब त्यसमा वा त्‍यहाँ भएका रेकर्डहरू हेरेर पनि केही थाहा पाउन सकिएला। कुशाङले फोनमा कसैको पनि नम्बर सेभ गरेको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार अनुसन्धान गर्न प्रहरीले कुशाङलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ।

विभागले पनि कुशाङमाथि अनुसन्धान अघि बढाएको छ। अहिले प्रहरी र विभागकै अधिकृतले मुचुल्काको काम दुई दिनदेखि गरिरहेको छ। र यो काम अझै केही दिन चल्न सक्ने एसपी आचार्यले बताए।

 

 

‘डलर र युरोमा रहेका हरेक रकमको सिरियल नम्बर मुचुल्कामा उल्लेख गर्ने काम भइरहेको छ। पत्रकार सम्मेलनपछि उता बुझाउँदादेखि नै सुरू भएको हो। अझै केही दिन लाग्नसक्‍छ,’ आचार्यले भने।

अपराध अनुसन्धान कार्यालयको टोलीले कुशाङलाई सोमबार राति टोखा नगरपालिकामा पर्ने झोरबाट पक्राउ गरेको थियो। कुशाङ रसुवागढीतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले पाएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको थियो।

ट्रकमा फल्सबटम बनाएर लुकाइएको अवस्थामा फेला परेको थियो। ट्रक पछाडि भने खाली नै थियो।