८ मंसिर २०८१, शनिबार

कार्ल मार्क्सले जेनीलाई सन् १८६५ मा लेखेको प्रेम–पत्र

प्रिय,

म तिमीलाई फेरि पत्र लेख्दैछु । थाहा छ किन ? किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ । र म तिम्रो कुनै जवाफ विना नै तिमीसँग कुरा गरिरहन्छु ।

एकैछिन छुट्टिएर बस्नु पनि राम्रै कुरा हो । निरन्तर सँगै बस्दा हामी एकअर्कामा, एकअर्काको बोली र बानीमा यसरी बानी पर्न थाल्छौं कि त्यसमा कुनै पनि कुरा फरक तरिकाले हेर्न असम्भव बन्दै जान्छ । त्यसपछि स–साना कुरा, बानीले ठूलो रुप लिन थाल्छ, रिस उठ्न थाल्छ । तर जति टाढा जान्छु, क्षणभरमा सबै हट्छ । सूर्य र बर्षाले नयाँ विरुवालाई हुर्काएजस्तै दुरीले प्रेमलाई चमत्कारिक रुपमा हुर्काउँछ ।

प्रिय, आजकल मसँग यो मायाको चमत्कार भइरहेको छ । तिम्रा छायाँ मेरो वरिपरि छ । मेरा सपनाहरु तिम्रो सुगन्धले सजिएका छन् । मलाई थाहा छ, दुरीले मेरो मायालाई कसरी जोगाएको छ ।

प्रिय, तिमीबाट टाढा भएको पल म भित्र प्रेमको शक्ति फेरि महसुस गर्छु । मलाई लाग्छ कि म केहि हुँ । पढ्ने, लेख्ने–जान्ने, आधुनिक हुने कुराले हाम्री भित्रको शंकालाई उजागर गर्दछ । हामीलाई तर्कसंगत बनाउँछ । तर यी सबैको प्रेमसँग कुनै सम्बन्ध छैन । म तिम्रो मायामा मेरो अस्तित्व महसुस गर्न सक्छु ।

यो संसारमा धेरै नारीहरू छन् । धेरै सुन्दर महिलाहरू छन् । तर म त्यस्तो अनुहार अन्यत्र कहाँ पाउन सक्छु ? जसको हरेक विशेषता र हरेक चाउरीपनले मेरो जीवनको सबैभन्दा ठूलो र सबैभन्दा सुन्दर सम्झना दिलाउँछ । मेरा सबै दुःख र जीवनका सबै अपूरणीय हानिहरू पनि ती मिठा सम्झनाहरूको छायामा हराए जस्तो लाग्छ । मेरो अनन्त पीडा, मेरो अपूरणीय क्षति पनि मैले तिम्रो मिठो अनुहारमा पढ्छु । र म तिम्रो अनुहारमा चुम्बन गर्दा पीडा मेटिएको अनुभव गर्छु ।

बिदा, प्रिय । तिमीलाई र बच्चाहरुलाई धेरै माया अनि चुम्बन ।
तिम्रो मार्क्स

विश्व इतिहास, अर्थतन्त्र, समाज, राजनीति बुझ्नको लागि संसारलाई बुझ्ने भौतिकवादी चिन्तनको महान् विचारक कार्ल माकर््स हुन । लेखन, चिन्तन र सक्रिय राजनीतिमा आफ्नो जीवनको अधिकांश समय पुस्तकालयमा बिताएका  कार्ल मार्क्सले आफ्नी श्रीमती जेनीलाई सन् १८६५ को जुन २१ मा लेखेको पत्रको भावानुवाद ।