१ चैत्र २०८१, शुक्रबार

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक घटेको छ।

 

नेप्से २.७० अंकले घटेर २८१८.४३ विन्दुमा झरेको हो।

बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ।

 

 

गत कारोबार दिन अर्थात् बुधबार १० अर्ब ९७ करोडको सेयर कारोबार भएकोमा बिहीबार १० अर्ब १० करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा ८७ करोड रूपैयाँ कमी आएको हो।

आज ३१० वटा धितोपत्रको एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन भुगोल इनर्जी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

 

 

उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७४३ रूपैयाँ ६० पैसा र एक हजार ६७२ रूपैयाँ २० पैसा कायम भएको छ।

यस्तै, उपकार लघुवित्तको मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य चार हजार ६३० रूपैयाँ कायम भएको छ।

बिहीबार १०% नबिल बैंक डिबेन्चर २०८२ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

 

 

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १२३ रूपैयाँ २० पैसामा झरेको छ।

यस्तै, गुराँस लघुवित्तको मूल्य ७.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य तीन हजार ८० रूपैयाँ कायम भएको छ।

बिहीबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७३ रूपैयाँमा १ अर्ब १२ करोड ८३ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ३.७७ प्रतिशत घटेको हो।

 

 

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३५० रूपैयाँमा १ अर्ब ८ करोड एक लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८६ प्रतिशतले बढेको छ।