२८ फाल्गुन २०८१, बुधबार

प्रहरीले मिटरब्याजी कल्पना गैरेलाई पक्राउ

काठमाडौं। प्रहरीले मिटरब्याजी कल्पना गैरेलाई पक्राउ गरेको छ ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाल्पा घर भई कैलालीको धनगढी उपमहानगरपालिका बस्दै आएकी ३९ वर्षीया गैरेलाई काठमडाौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

 

मिटर ब्याजमा ठगी गरेको आरोपमा केही समयअघि उनीमाथि धनगढीको चौराहामा कुटपिटसमेत भएको थियो । प्रहरीले गैरेविरूद्व शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

 

उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य रहिसकेकी गैरे कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ नामक अस्पताल सञ्चालन गर्दै आएकी थिइन्। हाल उक्त अस्पताल बन्द रहेको बताइएको छ ।

उनी विभिन्न बहानामा ठगी गर्ने गिरोहकी मुख्य सदस्यका रूपमा चिनिन्छिन्। कैलालीमा ठूलो मात्रामा रकम ठगी गरेपछि पछिल्लो समय उनी पोखरामा लुकेर बसेको प्रहरीले जनाएको छ । गैरेमाथि जबरजस्ती चोरी, ठगी, र आपराधिक लाभ लिएको आरोप लागेको छ।