९ फाल्गुन २०८१, शुक्रबार

स्मृतिमा प्रिय भाई नयन :- ललित बिक्रम सिंह

लेखक : ललित बिक्रम सिंह

स्मृतिमा प्रिय भाई नयन –
✍️म भन्दा ५ महिना मात्र कान्छो थियो भाई नयन ! त्यसैलेहामी दुई भाई बीच दाई-भाईको मात्र नाता नरहेर एउटा असल दौतरीको नाता थियो । हामी दुईभाईले खेल्ने माटो र धुलो मात्र एकैनभएर अध्ययन गर्ने स्कूल समेत एकैथियो । म एक कक्षा अघि हुन्थे। उ एक कक्षा पछि हुन्थ्यो । त्यसैले पनि प्राय : मैले पढेकै पुस्तकहरु उस्ले पढ्यो । मैले बनाएका नोटहरु उस्ले घोक्यो । म अघि -अघि उ पछि -पछि हिडिरह्यो । पढाइमा उस्लाई यसै कारणले पनि सहज थियो। नजानेको कुरा सिकाइ माग्न मलाई जस्तो उस्लाई गाह्रो कहिलै भएन । हामी स्कूल जाँदा र आउँदा पनि सँगै हुन्थ्यौ । खासगरी हामी स्कूल पढ्दाको क्षणमा स्कूल जाँदा र आउँदा विद्यार्थीहरुको लाम हुन्थ्यो । त्यो लाममा हामी दुई भाई जहिलेपनि अघि पछि हुन्थ्यौ । हामी दुई भाई अन्य विद्यार्थीको तुलनामा साना र फुच्चेथियौ । स्कूलमा हामीलाई सानो देखेर प्रायले हेप्ने गर्थे। कसैलेलमलाई हेपेको अनुभूति गरेपछि उ जाइ लागी हाल्थ्यो । म भने झगडा गर्नुहुन्न, झगडा गरेर के फाइदा हुन्छ भन्दै उस्लाई सम्झाउने
गर्थे। स्कूलबाट फर्केर आए पछि हामी दुई भाई सँगै बसेर होमवर्क गर्थ्यौ । उ भन्दा राम्रो अक्षर लेख्थ्यो । पढाइमा पनि उ तेज थियो । शारीरिक हिसाबले पनि उ सुरिलो र बलियो थियो । हामी दुबैभाईको आनीबानी र लगनशिलता देखेर हजुर बुवाले हाम्रो खुब बद्ख्याई गरेको मलाई अहिलेपनि सम्झना भइरहन्छ !
विदाको दिन हामी दुई भाईको ड्युटि बाख्रा चराउनेहुन्थ्यो । बाख्रा चराउनेक्रममा हामी दुईभाईले काफलको बोक्रामा आफ्ना नामहरु लेख्ने गर्थ्यौ । बस्ने पहरामा आँसीको चुच्चोले गीत र सायरीहरु लेख्ने गर्थ्यौ । हामी दुबै भाईलाई हाम्रो पाल्ता र गजेनीका प्राय: रुखहरुर जंगलका मुसमुसे बाटाहरु सबैको जानकारी रहन्थ्यो । अषाढ लागेपछि बर्खेबिदा हुन्थ्यो । त्यो बर्खेबिदामा हामी मकैहेर्न सँगै जान्थ्यौ । दिनभरी जसो कुरीमा बसेर बाँदर धपाउँथ्यौ र बेलुका झिसमिसेमा घर पुग्थ्यौ ।वैशाख र जेठ महिनामा हाम्रो ड्युटी बिहान मकै गोडेर दिउँसो स्कूल जानेहुन्थ्यो । अन्य महिनामा बिहान र बेलुकाको खाना पकाउने काम हामी नै गर्थ्यौ । हाम्रो घर फरक- फरक भए पनि पँधेरामा पानी भर्न हामी सँधै जसो सँगै निस्कन्थ्यौ । पानी भरेर घरमा सँगै फर्कन्थ्यौ । बेलुका हामी झा सर सँग पढ्थ्यौ । बेलुका देब बहादुर शाही, नयन र मसँगै बसेर पढ्थ्यौ । ती दिन हाम्रा निक्कै रमाइला थिए । जतिखेर हामी कक्षा ६,७ मा पढ्थ्यौ हामीलाई खासै कुनै चिन्ता थिएन ।

बाबा-आमासँगै बसेर गाउँको स्कूलमा पढ्न पाएका थियौ । हामीलाई नपुग्दो खासैकेही थिएन त्यतिखेर ।जेठ अषाढको शनिबारमा हामी खोलामा माछा मार्न जान्थ्यौ । नर बहादुर दाई र कान्छा बुवाले दुवाली बाँध्नुहुन्थ्यो नयन र म स्याउला र माटो बोक्थ्यौ । एकपटक माघ महिनामा कान्छा बुवा, नयन र म खोलामा वसेरा बसेर माछा
मार्न दुवाली बुझ्यौ । राती अवेर भए पछि त्यही नजिकै ओढारमा सुत्यौ । अनि दुवालीमा सिस्नु बिछ्यायौ, बिहान पख उठेर दुवाली हेरेको सिस्नु लागेर माछाले दुवाली सेताम्य थियो, हामि सबै खुसिले गदगद भयाै । ती सबै माछा बटुलेर घर गयौ ,पछि पनि हामी दुई भाईले कान्छा बुवालाई त्यसरी नै माछा मार्न जान फकायौ । तर कहिलै माैका मिलेन । पछि हामी दुबैभाई पढ्न बाहिर गयौ । खलंगामा हामी ३ भाई (नयन, देब बहादुर र म ) सँगैबसेर पढ्यौ । खाना पकाउने पालो लगाउथ्यौ । आआफ्नो पालोमा खाना पकाउने, पानी ल्याउने काम स्वचालित रुपमा हामी गर्थ्यौ । पढ्दा पनि सँगैपढ्ने र सुत्दा पनि सँगै सुत्ने गर्थ्यौ । त्यो समय त्यत्रो घर हुँदाहुँदै हामी किन एकैकोठामा ३ भाई बसेर पढ्यौ । त्यसरी बस्दा किन एक अर्कासँग डिष्टर्ब मानेनौ ? किन हामी कहिल्यै झगडा गरेनौ ? त्यत्रो लामो अवधिसम्म हामी कसरी त्यति प्रिय हुन सक्यौ ? मेरो मस्तिष्कमा बेला बेला यो प्रश्न आइरन्छ !! तर उत्तर भेटेको छैन
पढ्ने क्रममा नयनलाई थोरै पढे पुग्थ्यो । मलाई अलि धेरै पढ्नु पर्ने हुन्थ्यो । देब बहादुर अलि अल्छी गर्थ्यो ।बेलुकाको खाना खाएर हामी पढ्न बस्थ्यौ । हामी दुई भाईको १० बजेसम्म बसेर पढ्नेबानी थियो । देब बहादुर सुतेर पढ्छु भन्दैनिदाइ हाल्थे । त्यति सबेरै सुतेको देखेपछि हामी देबलाई उठाउन अनेक प्रयत्न गर्थ्यौ तर उ उठ्दैन्थ्यो
। पछि नयनले पढ्दा -पढ्दै देब सुतेपछि उस्को ओठमा जुँगा बनाइ दिन्थ्यो , म हाँस्थे मात्र । त्यसमा मेरो कुनैभूमिका हुँदैन्थ्यो ।

एकदिन बिहानै देबको पानी भर्नेपालो थियो । उ गाग्री बोकेर धारा गएछ । पानि थाप्न लाइन लागेछ । अनि पानी भर्न आएका महिलाहरुले के तिम्रो त जुँगा आएछ भन्दै हाँसेछन्। उस्लेकुरो बुझेनछ,अनि घर आएर ऐना हेरेछ । जुँगा बनाएको देखेपछि रिसाएर गाली गर्यो । पछि हरेक विहान उठेपछि देब बहादुरले ऐना हेर्नेगर्थ्यो । पछि उठ्ने वित्तिक्कै ऐना हेर्ने उस्को बानी नै बन्यो ।

२०५३ चैत्र २१ गते मेरो एस. एल. सी. सकिए पछि म बिदामा गाउँ गए। नयन खलंगा घरमा एक्लै बस्दै पढ्न थाल्यो, सायद २०५३ को अषाढ ७ गते हुनुपर्छ । एस.एल. सी. को नतिजा प्रकाशन भयो । त्यो बिहान म बिहानै बारीमा मकै गोढ्दै थिए । रेडियो अगाडी राखेर एउटा मेलो सक्दै थिएँ। बिहान ७ बजेको समाचार आयो । नतिजा प्रकाशन भएको समाचार सुने। नतिजा केपो भन्ने लाग्यो ! घर गएर खाना खाइवरी लिउरे खानी गएँ। बुवा त्यतै हुनुहुन्थ्यौ ।त्यो दिउँसो हामी पाँखेधान लगाउँदै थियौ । सायद दिउँसोको २ बजेको हुँदो हो । नयन बहादुर हस्याङ फस्याङ गर्दै आइरहेको देख्यौ । दाई पास हुनुभयो भनेर तलैबाट करायो । नजिक आए पछि बुवाले सबै सोध्नु भयो । कति अंक आयो ..? कुन डिभिजन आयो.. ? तँले बिहान कति बजे थाहा पाइस्, अनि कति बजे हिडिस् खलंगा बाट.. ? उस्ले बुवाका सबै जिज्ञासाको सम्बोधन गर्यो ।
-नतिजा प्रकाशन हुन वित्तिक्कै दूर सञ्चार गएर लाइन लागेर नतिजा सोध्दा ९ बजे पालो पाएछ उस्ले। दाई पास भएको खबर सुनेपछि कोठामा आएर खान खाइवरी विहानै ९ /साँढे ९ तिर उ खलंगाबाट हिडेको रहेछ ।

खलंगा देखि टालेगाउँ सम्मको सबै बाटो म्याराथन दौड दौडे जसरी पार गरेर १२ घण्टाको बाटो ५ घण्टामा पार गरेछ ! दाईको
प्रगति आफ्नै प्रगति ठान्ने, दाईको प्रेरणालाई सँधै सिरोपर गर्ने प्रिय भाई सँधैका लागि अस्ताएको खबरले म आल्लाहित छु आज ! प्रिय भाइ नयन !!
कक्षा ११ र १२ समेत हामी दुबै भाईले त्रिभुवन माद्यमिक विद्यालय खलंगामा अध्ययन गर्यौ । मैलेकक्षा १२ उतीर्ण गरेपछि म स्नातक अध्ययनका लागि सुर्खेत हानिएँ। त्यस पछि हामी दुईभाईको सँगै अध्ययनको सहयात्रा टुंगियो ।

मैलेकक्षा १२ को चारित्रिक सर्टिफिकेट लिएर खलंगाबाट सुर्खेत हानिदाको रात उ निदाउन सकेको थिएन ! मलाई दुईभाई छुट्दाको पिडाको खासैफिल भएन । तर पछि मैले ऊ ननिदाएको त्यो रातलाई घरीघरी सम्झिरहे, सायद दुईभाई सँगसँगै पढेको, सँगसँगै सुतेको एकैथालमा भात खाएको, एउटा लामो समय खण्डोहर हुँदैगएको पिडा उस्ले अनुभूति गर्न सकेको रहेछ । तर मैले दुईभाई बिछोडिदा को पिडा किन फिल गर्न सकिन ! आफैलाई थाहा भएन !

गाउँमा जनयुद्ध चर्किएको समय थियो । एकपटक म सुर्खेतबाट खलंगा पुगे। दुई भाई खलंगाबाट घर जाँदैथियौ ।पाँचकाटिया चौकीमा पुगेपछि ड्यूटीमा रहेको प्रहरीले हामीलाई निक्कै केरकार गर्यो । तेज बहादुर शाहीलाई कुट्नेको हो ..? भन..? भन्दै हामी दुबै भाईलाई केरकार गर्न थाल्यो । हामीलाई के थाहा ? थाहा त तपाईलाई हुनुपर्ने हो भन्ने हाम्रो ठाँडो जवाफ ले ऊ निक्कै रिसायो र भाई नयनलाई समाएर झक्झक्याउन थाल्यो । मैले त्यो दृश्य देख्न सकिन र झोक्किदै भने  ´के गरेको यो ? कस्तो सुरक्षा दिदैछौ तिमीहरुले|हामी नागरिकलाई ? के हामी माओबादी हो ? हो भनेदगोली हान,अहिलेनै छाति थाप्न तयार छौ भनेर कराएँ।` पछि असई आएर थप कुरा गर्यो । हामी खलंगाबाट आएका हौ । हामीलाई गाउँको घटनाका बारेमा के जानकारी हुन्छ ? भनेर प्रहरीलाई नै प्रति प्रश्न गरेपछि ड्युटीवाला प्रहरीले -ए तपाईहरु
त टालेगाउँबाट आएको हो कि भनेर पो मैले यति केरकार गरेको , खलंगाबाट आएको भए जानुस्। माइन्ड नगर्नू है ,कहिले काँही यस्तै हुन्छ भन्दै हामीलाई फकाउने कोशिस गर्यो । त्यो दिन हामी निक्कै अवेर मात्र घर पुग्यौ । प्रहरीको आक्रमक व्यवहारबाट उस्को मानसिकता कमजोर भयो । बाटोमा हामी हतासिएर हिड्यौ । आपसमा समेत नबोली दुईभाईले बाटो काटिरह्यौ, मैले उस्लाई बोल्ने बनाउन अनेक प्रयास गर्दा पनि पाँचकाटियादेखि टालेगाउँसम्मको
त्यति लामो बाटोमा उ बोलेन ! मैले बेलुका द्धन्द्धको समयमा यस्तो हुन्छ भाई , पीर नगर , अनाहकमा मान्छे मारिएका त छन् ! हामी मारिएका त होइनौ नि भनेपछि उ कन्भिन्स भयो । दुईभाईले त्यो रात प्रहरी र माओबादीको द्धन्दका कारण सर्बसाधारणले पाएका सास्तीहरुको बारेमा लामो कुरा गर्दैनिदायौ ।
त्यस पछि हामी दुईभाईलाई टालेगाउँदेखि खलंगासम्मको त्यो लामो बाटो कहिल्यै सँगै हिड्ने मौका मिलेन ।

हामी तीन भाईले दशकौ सँगै काटेको त्यो पाँचकाटियाको कठिन उकालो कहिल्यै सँगै चढ्न पाएनौ । एका बिहानै हजुर बुवा र  बाबा -आमाको आशिक सहित दहि अक्षिताको टिका थापेर खलंगाको साइतमा हिड्ने समय फेरी कहिल्यै जुरेन हामीलाई ।

जाजरकोट जिल्ला शिक्षा कार्यालयमा काम गरिरहदा केही समय दाईभाईको भेट हुने समय जुरे पनि बालापनका ती रमाइला पलहरुजस्तो भातृत्व र दौतरीपनमा पुग्न फेरी कहिल्यै सकिएन ! दशै तिहार जस्तो अवसरमा कहिले काही भेट भए पनि हामीलाई धीत मरुञ्जेल बालापनका यादहरुमा फर्किएर रमाउने समय परिस्थितिले कहिल्यै जुराइ दिएन।

पछिल्लो समय म काठमाण्डौ केन्द्रित हुन पुगे। भाई नयनसँग सम्पर्क हुनैछाडेपछि एउटा सामान्य पसल सञ्चालन गरेर उस्लाई नजिक बनाउने प्रयास गरियो । जसबाट उस्को कमजोर हुँदै गइरहेको
स्वास्थ्य सुधार हुन जानेर उस्का छोराहरुको पठन पाठन पनि सहज हुने उपायको खोजी थियो, त्यो केही समयमा पसल
चलाइ सकेपछि दशै मानेर आउँछु भन्दै दशै अघि घर गएको भाई काठमाण्डौ फर्केर फेरी आएन ,सायद समयको खेल र भाग्यको लेखा यहि थियो जो हुन गयो ! मैलेयति छिटै प्रिय भाईले यो संसार बाट बिदा लिएर जाला भन्नेकुरा कहिल्यै पनि सोच्न सकेको थिएन ! हुने हार -दैब नटार !! तिमी निक्कै छोटो आयु लिएर आएका रहेछौ
भाई , जो तिमी आफैलाई त थाहा रहेन छ  मलाई झन कसरी थाहा होस् !!
भाइ नयन तिमी सबैका अति प्रिय थियौ , आँखामा राखेपनि नबिझाउने एउटा साच्चिकै नयन थियौ तिमी । कसरी यति छिटै तिमी भगवानको प्रिय हुन सक्यौ । अहिलेपनि म तिमी टाढा भएको कुरा विश्वास गर्न सकिरहेको छैन । तर जब सामाजिक सञ्जालमा
छाएका श्रद्धाञ्जली !!!  र समवेदना !!– देख्छु तब मलाई यो अप्रिय खबरले पटक- पटक झस्काइरन्छ ! मुटु चस्स दु:खाई दिन्छ । आँखा आँसुले भिँजाई दिन्छ ! तिमी जहाँ छौ खुशी हुनुभाई नयन !!

तिम्रो अनुपस्थितिमा हामी सबैअति दु:खी भए पनि !- तिम्रो स्वर्गमा बास होस् भाइ !! तिमी सधै सबैकाे नयन हाै ! तिम्रा ती सबै हाँसिला आँटिला कामहरु र तिमिले छाेडेका अधुरा सपना पुरा गर्ने हामी सबैकाे कर्तव्य रहनेछ । हार्दिक श्रद्धाञ्जली !! प्रिय भाइ नयन ।।

लेखक सिंह : नेपाल सरकारका उप सचिव हुन ।