१८ माघ २०८१, शुक्रबार

बागमती पुलको स्पान भासियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदीको पुलको एउटा स्पान भासिएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भासिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो ।   नेपाल सोभियत संघ मैत्री सहयोगअन्तर्गत करिब ५० वर्षअघि बागमती नदीमा पुल बनेको थियो । लामो समयदेखि पुल मर्मत सम्भारमा ध्यान नदिँदा क्रमश पुरानो हुँदै भौतिक संरचनाहरु कमजोर भएको चन्द्रपुर नगरपालिका वडा नं. १ का स्थानीय श्रीराम न्यौपानेले बताए । उनका अनुसार पुलको भारवहन क्षमताभन्दा अधिक लोड भएका ढुवानीका साधनहरु गुड्ने गरेकाले पुल भासिएको हो ।पुलको स्पान भासिएकाले भारवहन क्षमता अधिक भएका गाडी सञ्चालनमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।     बागमती पुलको बेरिङ्ग फुट्दा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले शीघ्र मर्मत गर्नु पर्ने उनको माग छ । सर्लाहीबाट रौतहटतर्फ आउँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भासिएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जानकारी दिएको छ । बागमती नदीको पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पान बीचको अन्तर बढेको डिभिजन सडक कार्यालय चन्द्रपुरका इन्जिनियर प्रकाश यादवले बताए । पुलको एउटा स्पान भासिने बित्तिकै पूरै संरचना नै कमजोर हुने उनको भनाई छ ।       सडक डिभिजन कार्यलयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौंलाई पत्रमार्फत जानकारी गराइसकेको छ । पुलमा अधिक भारवहन क्षमताका गाडीमा ध्यान दिन रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख अरुण कुमारलाल कर्णले बताए ।       उनका अनुसार यस सडकखण्ड भएर जाने भारवहन क्षमताका सवारी साधन पुलमा एक पटकमा एउटा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अहिले पुलको स्पर केही भाग अग्लो, केही भाग होचो देखिएकाले सवारी साधन चलाउँदा सावधानी अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।