काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टीको नेपालकाे केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले गैरराजनीतिक षड्यन्त्रकारी घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्रहरु खारेज गरेकाे बताएका छन् ।
आज उनलेे एक विज्ञप्ति जारी गर्दै हिजो साझ केही अराजनीतिक समुहले श्रमिक कम्युनिस्ट पार्टी नेपाल विघटन भएको मिथ्या समाचारलाई लिएर त्यसको खण्डन गरेका छन् साथै उनलेे आफ्नाे पार्टी पंक्ति नियमित काम रहेको, राष्ट्रिय सम्मेलनकाे तयारीमा जुटेको समेत बताएका छन् । उनलेे पार्टी पंक्तिलाई एकताबद्ध भई नियमित कार्यमा डट्न र भ्रममा नपर्न समेत अपिल गरेका छन् । उनलेे जारी गरेको विज्ञप्ति यस्तो छ :
“विचार एवम् क्रान्तिप्रति प्रतिबद्ध जनउत्तरदायी पार्टी श्रमिक कम्युनिस्ट पार्टी नेपालको नाम लिंदै वैचारिक रूपमा- मनोगत, पेटी बुर्जुवा तथा जातीय सङ्कीर्णता बोकेका, दार्शनिक रूपमा- लाललफ्फाजी, राजनीतिक रूपमा अवसरवादी, गलत महत्वाकाङ्क्षा तथा षड्यन्त्रकारी घुसपैठ, साङ्गठनिक रूपमा अराजकता एवम् गुटगत प्रवृत्ति, सांस्कृतिक रूपमा उत्तरआधुनिकतावादी मनोवृत्ति र आर्थिक रूपमा निम्नपुँजीवादी प्रवृत्तिग्रस्त केही व्यक्तिले पार्टी राष्ट्रिय सम्मेलनको नजिक माघ १३ गतेको मितिमा पार्टीको सम्पर्कमा नरहेका र हुँदै नभएको जिम्मेवारी उल्लेख गरी नक्कली सूची र नक्कली हस्ताक्षर गरी पार्टी निर्देशक सिद्धान्त, कार्यदिशा, नेतृत्व र कार्यक्रम लक्षित गरी जारी गरेको विज्ञप्ति भ्रमपूर्ण, खेदजनक र रहस्यमय छ । पार्टी उक्त कपटपूर्ण वक्तव्य खारेज गर्दछ । पार्टी निर्णय बमोजिम पार्टीका सम्पूर्ण कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले गति लिइरहेको र जनतामा वैज्ञानिक समाजवादी जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनामा विश्वास बढ्दै गएको अवस्थामा सुनियोजित रूपमा, षड्यन्त्रपूर्ण ढङ्गले आएका/ल्याइएका कुनै पनि विषयले तथ्यसँग कुनै सरोकार राख्दैनन् । देशभर र विदेशमा रहेको सिङ्गो पार्टीपङ्क्तिलाई यस्ता गैरराजनीतिक षड्यन्त्रकारी, घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्र खारेज गर्दै आन्दोलन र निर्धारित कार्यक्रमहरूमा डटिरहन पार्टी केन्द्रीय कार्यालय हार्दिक अपिल गर्दछ । सम्पूर्ण पार्टीपङ्क्ति एकताबद्ध रूपमा अगाडि बढौँ ! प्रायोजितहरूको मिथ्या बकबासको भ्रममा नपरौं !”