२० फाल्गुन २०८१, मंगलवार

अध्यादेशबारे सांसदहरूलाई जानकारी दिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई अध्यादेशबारे जानकारी दिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हालै पाँच वटा अध्यादेश जारी गरेका थिए। ती अध्यादेश संसद सुरू हुनेबित्तिकै प्रतिस्थापन विधेयक ल्याएर स्वीकृत गर्ने योजनामा सरकार छ।       कांग्रेसले आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दल बैठक गरेर सांसदहरूलाई सरकारले ल्याएका अध्यादेशका अन्तरवस्तुबारे जानकारी दिएको हो।     अध्यादेशमार्फत् ३० भन्दा बढी कानुनमा सुधार गर्न काम गरेका विज्ञहरूलाई बोलाएर कांग्रेसले आफ्ना सांसदहरूलाई अध्यादेशबारे जानकारी गराएको हो।     योजनाविद् प्रताप पौडेल, अधिवक्ताहरू सेमन्त दाहाल र अरूण पौडेलले सांसदहरूलाई अध्यादेशका अन्तरवस्तुबारे जानकारी दिएका छन्। कांग्रेसका तर्फबाट उनीहरूले अध्यादेश ल्याउनुअघि कानुनी सुधारका लागि काम गरेका थिए।     कांग्रेसले मन्त्रीहरूलाई राखेर शनिबार छलफल पनि गरेको थियो। सभापति शेरबहादुर देउवाले सरकारका कामकारबाही र अध्यादेशलगायत विषयमा चित्त नबुझेका कुरा पार्टीभित्रै राख्न आग्रह गरेका थिए।     संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक माघ १८ गतेका लागि बोलाइएको छ। संसद अधिवेशन सुरू हुनुअघि कांग्रेसले आफ्ना सांसदहरूलाई अध्यादेश र समितिहरूमा विचाराधीन विधेयकबारे जानकारी गराएको हो।     यसअघि नेकपा (एमाले) ले पनि कानुन सुधारका लागि काम गरेका विज्ञलाई संसदीय दल बैठकमा बोलाएर सांसदहरूलाई अध्यादेशका अन्तरवस्तुबारे जानकारी गराएको थियो।