काठमाडौं। शनिबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम हल्का घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।
शनिबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो।
आइतबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव काठमाडौंमा पनि हल्का पर्ने मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।
त्यसको प्रभावले दिउँसो काठमाडौंमा हल्का बादल लाग्ने पूर्वानुमान छ। त्यसले अधिकतम तापक्रम केही घट्ने मौसमविद् महर्जनले बताइन्।
आइतबार काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
काठमाडौंमा साँझ खण्डित वर्षा हुने पूर्वानुमान पनि छ।
‘माथिल्लो भूभागमा साँझ खण्डित वर्षा हुने सम्भावना छ। वर्षा छिटपुट हुने देखिन्छ,’ मौसमविद् महर्जनले भनिन्।
एक सातमा कति घटबढ भयो न्यूनतम तापक्रम?
गत आइतबार काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि सोमबार ८.१ , मंगलबार ७, बुधबार ६.३, बिहीबार ४.५, शुक्रबार ४.६ र शनिबार ५.७ डिग्री सेल्सियस मापन भएको थियो।