२ माघ २०८१, बुधबार

विकास र समृद्धिका लागि एमाले महासचिव पोखरेलको ५ बुँदे सुझाव

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिको आकांक्षा छिटो पूरा गर्ने हो भने राजनीतिक स्थायित्वको सुनिश्चिततासहित दक्ष जनशक्ति विकास अपरिहार्य रहेको बताएका छन् ।   सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले राजनीतिक स्थायित्वको सुनिश्चिततासहित दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने पाँच बुँदे सुझाव प्रस्तुत गरेका छन् । महासचिव पोखरेलका अनुसार जागिरमुखी शिक्षालाई उद्यमशिलता, व्यापार र व्यवसायोन्मुख शिक्षामा रूपान्तरण गर्नुपर्ने र प्राविधिक तथा व्यावसायिक शिक्षाको हिस्सा ६० प्रतिशतभन्दा माथि पुर्‍याउनुपर्ने आवश्यकता छ ।   यसैगरी, महासचिव पोखरेलले शारीरिक र मानसिक रूपमा स्वस्थ जनशक्ति विकासका लागि आवश्यक चेतना, पूर्वाधार र सामर्थ्य विकासमा जोड दिनुपर्ने बताएका छन् । साथै, प्रत्येक नागरिकलाई आधुनिक प्रविधि र यन्त्र उपकरण प्रयोग गर्ने क्षमता र पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाई छ । महासचिव पोखरेलले पुँजी निर्माण र परिचालनका लागि बचत संस्कृतिको विकास गर्नुपर्ने औंल्याएका छन् ।   युवा जनशक्तिलाई देशभित्रै उद्यमशिलता, व्यापार-व्यवसाय र नवप्रवर्धनमा संलग्न गराउन व्यवस्थापकीय सीप र क्षमता विकासमा जोड दिनुपर्ने महासचिव पोखरेलको धारणा छ ।