१ माघ २०८१, मंगलवार

चालु वर्षमा सेवा क्षेत्रमा सुधार देखिए

विशेषगरी पर्यटन क्षेत्रसँग सम्बन्धित सेवाबाट हुने कारोबारमा सुधार देखिएको हो। जसकारण यस्तो सेवाबाट संकलन हुने मूल्य अभिवृद्धि कर (भ्याट) यो वर्ष उल्लेख्य बढेको छ। चालु वर्षमा सेवा क्षेत्रमा सुधार देखिएको छ।

आन्तरिक राजस्व विभागका अनुसार चालु वर्षको यो अवधिसम्म हवाई उडान, सञ्चार सेवा, बीमा, अन्य सेवाबाट संकलन हुने राजस्व मात्रै १३ अर्ब रूपैयाँ पुगेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ७२ प्रतिशतले बढी हो।

 

यो शीर्षकबाट उठेको राजस्वमा सबभन्दा धेरै योगदान हवाई उडानको छ।

सरकारले आर्थिक वर्ष २०८०/८१ बाट हवाई टिकटमा भ्याट लगाउन सुरू गरेको थियो। चालु वर्षको करिब ६ महिनाको अवधिमा ६ अर्ब ५५ करोड ५७ लाख रूपैयाँ बराबरको भ्याट हवाई उडानबाट संकलन भएको छ।

हवाई यात्रा बढेसँगै यसको प्रभाव सरकारले संकलन गर्ने राजस्व बढेको हो।

 

त्यस्तै सञ्चार सेवाबाट तीन अर्ब २३ करोड ५० लाख रूपैयाँ संकलन भएको छ। बीमा सेवाबाट संकलन हुने भ्याट भने एक अर्ब ९४ करोड रूपैयाँ मात्रै छ। त्यस्तै अन्य सेवाबाट संकलन हुने भ्याट ५४ करोड ५७ लाख रूपैयाँ बढेको छ। मुख्यतः हवाई भ्याटमा भएको वृद्धिले यो शीर्षकमा उल्लेखनीय योगदान पुगेको आन्तरिक राजस्व विभागका अधिकारीहरूले बताएका छन्।

पर्यटन सेवाबाट संकलन हुने भ्याटमा पनि सुधार देखिएको छ। यस अन्तर्गत होटल, ट्राभल एजेन्सी र जलयात्राको व्यवसायका क्रममा संकलन गरिने भ्याट पर्छ। यस्तो हिस्सा कम रहे पनि अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको छ।

यो अवधिमा एक अर्ब १५ करोड रूपैयाँको यो शीर्षकको भ्याट संकलन भएको छ। यसले पर्यटन गतिविधिमा सुधार देखिएको संकेत गर्छ।

वस्तु आयात र बिक्री वितरणबाट संकलन हुने भ्याटमा भने खास सुधार देखिएको छैन। वस्तु आयातको क्रममा संकलन हुने भ्याट गत वर्षको भन्दा जम्मा ३ प्रतिशतले बढेर ७२ अर्ब २९ करोड रूपैयाँ पुगेको छ। भ्याटमा सबभन्दा ठूलो योगदान आयतित सामानको नै देखिने गरेको छ।

वस्तु बिक्री र वितरणको क्रममा संकलन हुने भ्याट ६ प्रतिशतले बढेर ११ अर्ब ७८ करोड रूपैयाँ संकलन भएको छ।

यता वस्तु उत्पादनमा भने सुधार देखिएको राजस्व संकलनको तथ्यांकले देखाएको छ। कुनै उत्पादनकर्ताले वस्तु उत्पादन गरी बिक्री गर्ने क्रममा संकलन गर्ने भ्याट गत वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ। यो अवधिमा १४ अर्ब ४५ करोड रूपैयाँको यस्तो राजस्व संकलन भएको छ।

 

यता आन्तरिक उत्पादनको क्रममा संकलन हुने अन्तशुल्क पनि २३ प्रतिशतले बढेको छ। यसले पनि उत्पादन वृद्धि भएको संकेत गर्छ। चालु वर्षमा पहिलो पाँच महिनाको अवधिमा ४७ अर्ब ३३ करोड रूपैयाँको आन्तरिक उत्पादनको अन्तशुल्क संकलन भएको छ।

गत वर्ष यसै अवधिमा ३८ अर्ब ४५ करोड रूपैयाँ मात्रै संकलन भएको थियो।

 

सरकारले विशेषगरी स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने सीमित वस्तुहरूमा अन्तशुल्क लगाउने गर्छ। यसमध्ये सबभन्दा ठूलो हिस्सा मदिरा तथा सुर्तिजन्य पदार्थको छ।

बियर र मदिराबाट संकलन हुने अन्तशुल्क मात्रै ३३ प्रतिशतले बढेको छ। सरकारले यो वर्ष तुलनात्मक रूपमा न्यून दरमा शुल्क बढाएर पनि बिक्री तथा कारोबार बढेपछि २६ अर्ब ६५ करोड यस्तो अन्तशुल्क संकलन भएको छ। गत वर्ष भने १९ अर्ब ९२ करोड मात्रै संकलन भएको थियो।

 

सुर्तिजन्य पदार्थबाट ११ अर्ब नौ करोड अन्तशुल्क संकलन भएको छ। यो गत वर्षको भन्दा ७ प्रतिशत मात्रै बढी हो।

अन्य औद्योगिक उत्पादनतर्फ लाग्ने अन्तशुल्क संकलन पनि औसतभन्दा धेरै देखिएको छ।

चालु वर्षको पाँच महिनामा यस्तो अन्तशुल्क ९ अर्ब ६० करोड रूपैयाँ उठेको छ। यो गत वर्षको तुलनामा १८ प्रतिशतले बढी हो। आन्तरिक उत्पादनको भ्याट र औद्योगिक उत्पादनको अन्तशुल्क बढ्नुले उत्पादनमा सुधार देखिएको संकेत गरेको छ।