काठमाडौ: नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री जनार्दन शर्माले विप्लव र आफुबिच फाटो ल्याउन भ्रम छरिएको बताएका छन ।
सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा शर्माले विप्लव र आफूबिच फाटो ल्याउन विभिन्न भ्रम छरिएको बताएका हुन ।
पार्टीले २०६६ तिर विद्रोह र चुनावको दुई धारे नीति अवलम्बन गर्नु कमजोरी भएको उनले प्रष्ट पारेका छन । ‘२०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो । त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो । चुनाव बुझ्नेले चुनाव बुझ्यो । विप्लवजीले विद्रोह बुझ्नुभयो र आफ्नो बाटो लाग्नुभयो’, उनले भने, ‘हाम्रो बिचमा कालोबादल लगाउने विषयमा प्रयत्न गरिएको थियो । त्यो सही होइन । माओवादी पुनर्गठनको अभियान आफैँले थालेको हुँ । विप्लव र मेरोबिचमा राम्रो सम्बन्ध छ । विप्लव र माओवादी एकताबिच बाधकका रूपमा पनि चर्चा गरियो । ती सबै कुरालाई कपिलवस्तु र हरिसिद्धिमा पुगेर खारेज गरिसकेको छ ।’