१० पुष २०८१, बुधबार

भक्तपुर प्रकरण: आत्मसमर्पण गरेका मिलनले बाबु र भाइको हत्या गरेको स्वीकारे

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका मिलन आचार्यले बाबु र भाइको आफूले हत्या गरेको स्वीकारेका छन्। मंगलबार आत्मसमर्पण गर्दै उनले बाबु र भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। उनीसँग थप सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। मिलन सम्पर्कमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरिरहेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटस्थित फिकाधारामा डेरा गरी बस्दै आएका मिलनले बाबु ५६ वर्षीय कुलप्रसाद आचार्य र भाइ २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या गरेको स्वीकारेका हुन्। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ स्थायी घर भएका उनीहरू बालकोटस्थित फिकाधारा डेरामा बस्दै आएका थिए।   मिलन र उनका भाइ प्रवीण डेरामा बस्ने भए पनि हालै उनका बाबु कुलप्रसाद आचार्य पनि सोही डेरामा आएका थिए। कुलप्रसाद जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुखसमेत थिए। उनी काम र छोराहरू भेट्न भक्तपुर आएका थिए। गत शनिबार उनीहरू डेरामा खाना खाएर सुतेका थिए। तर सोमबार बिहानसम्म पनि डेराको ढोकामा बाहिरबाट लगाएको ताला नखुलेपछि भुइँ तलामै डेरामा बस्नेहरूले प्रहरीलाई खबर गरेका थिए।   प्रहरी आएर हेर्दा बाबु र भाइको बेग्लाबेग्लै कोठामा शव फेला परेको थियो भने जेठा छोरा मिलन डेरामा थिएनन्। उनी शनिबार राति नै डेरा बाहिर निस्केको सिसिटिभी फुटेजमा देखिएको थियो। प्रहरीले जेठा छोरा मिलनको घटनामा संलग्नता हुन सक्ने भन्दै खोजी थालेको थियो। यसैक्रममा मिलन मंगलबार प्रहरीकोमा पुगेर आत्मसमर्पण गरेका हुन्।   प्रहरीको प्रारम्भिक बयानमा मिलनले आफूले धेरै पटक लोक सेवा आयोगको परीक्षा दिए पनि सफल हुन नसकेको बताएका छन्। ‘मैले धेरै पटक लोक सेवा आयोगमा परीक्षा दिएँ तर ५-६ पटकसम्म फेल भएँ,’ मिलनले भनेका प्रारम्भिक बयानबारे जानकारी दिँदै प्रहरी स्रोतले भन्यो, ‘बुवा पनि बिरामी हुनुहुन्थ्यो, भाइ पनि केही काम गर्दैनथ्यो, पढ्दै थियो।’   बाबु र भाइको हत्या गरेको स्वीकारेको बताउँदै प्रहरीसँग मिलनले आफूले पनि मर्ने प्रयास गरेको बताएका छन्। यसबारे प्रहरीले थप सोधपुछ गरिरहेको छ। उनका बाबु र भाइको शव डेराबाट त्रिवि शिक्षण अस्पताल लगेर राखिएको छ।