७ पुष २०८१, आईतवार

टायल उद्योगमा १५ अर्ब लगानी, २ हजारलाई रोजगारी

काठमाडौं । बाथरुम, भान्सा तथा भुइँ (फ्लोर) लगायतमा प्रयोग हुने टायलमा नेपाल आन्तनिर्भर हुने दिशामा अगाडि छ । पछिल्लो चार वर्ष अवधिमै नेपालमा ६ ठूला टायल उद्योग खुलेका छन् । यी उद्योगले कुल टायल मागको ६५ प्रतिशत हिस्सा ओगटेको नेपालमा कजरिया टायल उत्पादन गरिरहेको कजरिया रमेश टायल्स लिमिटेडका सञ्चालक रोहित गुप्ताले बताए । एउटा टायल उद्योगमा कम्तीमा २ अर्बदेखि बढीमा ४ अर्बसम्म लगानी भएको गुप्ता बताउँछन् । टायल उद्योगको लगानीलाई औसत साढे २ अर्बका दरले हिसाब गर्दा यी उद्योगहरुमा कुल १५ अर्ब रुपैयाँ लगानी भएको गुप्ता बताउँछन् । एउटा टायल उद्योगले २ सय ५० देखि ४ सय जनासम्मलाई रोजगारी दिन्छन् । यस हिसाबले टायल उद्योगमा २ हजार जनाले रोजगारी पाएका छन् । नेपालका ६ ठूला टायल उद्योगको कुल क्षमता प्रतिदिन ५० देखि ६० हजार वर्गमिटर रहेको उनले बताए । रमेश कर्प अन्तर्गत कजरिया रमेश टायल्स लिमिटेडले भारतको चर्चित ब्रान्ड ‘कजरिया’ का टायल नेपालमा उत्पादन गरिरहेको छ । भारतको नम्बर एक तथा विश्वको सातौं ठूलो कजरियासँग रमेश कर्पले बराबरी लगानीमा टायल उद्योग खोलेको हो । ४ अर्ब रुपैयाँ लगाानी भएको उद्योग नवलपरासीमा छ । ‘हाम्रो कजरिया टायल उद्योगको उत्पादन क्षमता १५ हजार वर्गमिटर प्रतिदिन हो, सबै उद्योग एउटै क्षमतामा छैनन्, त्यसो हुँदा ५० देखि ६० हजार वर्गमिटर टायल हरेक दिन नेपालमा उत्पादन हुन्छ,’ गुप्ताले भने । नेपालमा उत्पादित टायल भारतबाट ल्याउँदा भन्दा ३० प्रतिशतसम्म सस्तो पर्ने उनले बताए । नेपालमा टायल माग प्रतिमहिना २५ लाख वर्गमिटरसम्म पुगेकोमा नेपाली उद्योगको क्षमता १५ देखि १८ लाख वर्गमिटर रहेको उनले बताए । त्यसबाहेकको टायल मुख्य रूपमा भारतबाट आयात हुन्छ । अहिले निर्माण क्षेत्रमा सुस्तता आएकाले टायल माग पनि तीव्र रूपमा घटेको उनको भनाइ छ । नेपालमा कोभिडपछि टायल कारखाना खुल्न थाले पनि यिनको विस्तार भने तीव्र छ । नेपालमा कजरियाका अतिरिक्त नेपोभिट, नेमाटो, प्राइम, लुमिनार ब्रान्डमा टायल उत्पादन भइरहेका छन् । बारा जितपुरस्थित नेपाल सेरामिकले ‘नेपोभिट’ ब्रान्डमा टायल उत्पादन गर्छ । २०७९ मा मनोज रौनियार र शम्भुनाथ झा मिलेर स्थापना गरेको उद्योगमा १ अर्ब ६० करोड लगानी भएको छ । त्यस्तै, लुम्बिनी सेरामिक उद्योगले हालै बर्दिया गुलरियामा टायल उत्पादन सुरु गरेको छ । मंगलम ग्रुपको लगानीको उद्योगमा ३ अर्ब रुपैयाँ लगानी भएको छ । साढे १२ बिघा क्षेत्रफलमा फैलिएको उद्योगको क्षमता ४ करोड १५ लाख वर्गफिट रहेको उद्योगले जनाएको छ । यो उद्योगले ५ सय डिजाइनका टायल उत्पादन गर्छ । उद्योगले ३ सयलाई रोजगारी दिने जनाएको छ । त्यस्तै प्राइम सेरामिक्स प्रालिले पनि गत वर्ष असारदेखि टायल उत्पादन थालेको थियो ।