८ पुष २०८१, सोमबार

निर्माण क्षेत्र निरन्तर सुस्त भएपछि घट्यो डिजेल खपत

काठमाडौं। निर्माण क्षेत्र लामो समयदेखि सुस्त छ। यसको प्रत्यक्ष र प्रमुख प्रभाव निर्माण सामग्री उत्पादन र डिजेल खपतमा देखिएको छ। चालु वर्षको सुरूआती चार महिनामा मूल्यगत आधारमा २८ प्रतिशतले र परिमाणको आधारमा १० प्रतिशतले डिजेल खपत घटेको छ। २०८१ साउनदेखि कात्तिक मसान्तसम्म २९ अर्ब रूपैयाँ बराबरको तीन लाख २४ हजार किलोलिटर डिजेल आयात भएको छ। २०८० सालका यिनै महिनामा ४० अर्ब ३१ करोड रूपैयाँको ३ लाख ५९ हजार किलोलिटर डिजेल आयात भएको थियो। हामीकहाँ डिजेल भण्डार गर्ने क्षमता निकै कम भएकाले आयात भएको मात्रा नै तत्काल भएको खपतका रूपमा हेरिन्छ। यस आधारमा डिजेल खपत यो वर्ष पनि घटेको छ।अहिले मात्रै होइन, पछिल्ला केही वर्षदेखि नै डिजेल खपत बढेको छैन। नेपाल आयल निगमको तथ्यांक अनुसार वर्ष २०७७/७८ अघिका १५ वर्षमा वार्षिक डिजेल खपत वृद्धिदर २० प्रतिशत थियो। अर्थात् हरेक वर्ष २० प्रतिशतका दरले खपत बढ्थ्यो।त्यसपछिका वर्षमा भने वृद्धिदर कम भएको मात्र होइन, खपत पनि घटेको छ। यसले नेपालको समग्र आयात व्यापार पनि केही कम गरेको छ। चालु वर्षको सुरूआती चार महिनामा मात्रै गत वर्षको सोही अवधिको तुलनामा डिजेल आयात मूल्य ११ अर्ब रूपैयाँले कम भएको छ। परिमाण १० प्रतिशतले घट्दा, करिब ३० प्रतिशत मूल्यको आयात कम भएको छ। यसले डिजेलको भाउ पनि कम भएको देखिन्छ। तर परिमाण घट्नुले उत्पादन तथा विकास निर्माणका गतिविधिहरू सुस्त भएको संकेत गर्छ।