७ पुष २०८१, आईतवार

प्रेमिकाको निहुँमा गोंगबुको रेष्टुरेन्टमा दुईजना युवकलाई निर्घात कुटपिट

काठमाडौं । काठमाडौंको गोंगबुस्थित क्रेजी चिया भट्टी (रेष्टुरेण्ट)मा २०८१ भदौ ३० मा दुईजना युवक कुटिएका थिए । रेष्टुरेण्टमा रुपेश गुरुङ र सागर तामाङलाई ४ जना मिलेर कुटपिट गरेका हुन् । मरणासन्न हुनेगरी उनीहरुलाई कुट्ने ४ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साढे २ महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २० वर्षीय सुमित तामाङ, सुसन तामाङ, धादिङ घर भएका उमेश घले उर्फ उम्बे र आशिष गुरुङ उर्फ कान्छा छन् । कुटपिट गर्नेहरु गुण्डागर्दीमा संलग्न रहेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । प्रेमिका खोसेको निहुँमा उनीहरुले दुई जनालाई काठ, फलामको कुर्सी, हेलमेट र सिसाको बोत्तलले प्रहार गरेको सिसिटिभी फुटेजमा देखिन्छ । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।