२६ मंसिर २०८१, बुधबार

अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँ बस्ने ३० वर्षीय सन्तोष दास तत्मा र सोही महानगरपालिका-१६ नगवा बस्ने ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् । रौतहट कटहरिया नगरपालिका-६ बस्ने ४१ वर्षीय पुरुषलाई आइतबार अपहरण गरी फिरौती रकम माग गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ र अपहरणमा प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।