११ पुष २०८१, बिहीबार

नेपालगञ्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तेस्रो दिन दाताले गरे ३० लाख दान

नेपालगञ्ज , नेपालगञ्जको रामलिला मैदानमा प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दाताहरुले मनखोलेर दान गरेका छन् ।

कथा वाचनको तेस्रो दिन ३० लाख बढी दान प्राप्त भएको महोत्सव आयोजक समितिले जनाएको छ । आजको कथा वाचनमा नेपालगञ्ज सहित यस आसपासका स्थानीय पालिकाबाट पनि संस्थागत सहभागिता रहेको थियो ।

वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको तेस्रो दिनमा ३० लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

आजपनि पंडित पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट तालिका गडगडाहटले स्वागत र सम्मान गरेका थिए ।

आर्थिक समितिले दिएको जानकारी अनुसार आजको कथा प्रवचनका बीच कोहलपुरकी खुमा अर्यालबाट १० लाख ११ हजार रुपैयाँ, नेपालगञ्ज १२ की सुशिला शर्माले ५ लाख ५ हजार, रुपन्देहीको बुटवल हाल नेपालगञ्जका प्रसिद्ध चिकित्सक डा. रमेशकुमार श्रेष्ठबाट ४ लाख १० हजार, नेपालगञ्ज ९ का रामचन्द्र आचार्यबाट २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, नेपालगञ्ज १० भृकुटीनगरका डा. लक्ष्मण सिग्देलबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ, नेपालगन्ज ६ की निरु रेग्मीबाट १ लाख १ सय १५ रुपैयाँ दान प्राप्त भएको आर्थिक संयोजक श्रेष्ठले बताए ।

यसैगरी वैकुण्ठधामको निर्माणमा आफ्नो सहभागिता जनाउँदै नेपालगञ्ज घर भएर हाल बेलायत बस्दै आएकी प्रान्जली बस्नेतबाट १ लाख १ हजार, नेपालगञ्जका पुराना अधिवक्ता गिरिवर अग्रवालबाट ५१ हजार रुपैयाँ, नेपालगञ्ज घर भइ हाल बेलायत बस्दै आएकी करुणा शाहीले ३५ हजार एक सय रुपैयाँ, जेष्ठ नागरिक सञ्जालबाट २५ हजार ५ सय ५५ रुपैयाँ, कन्हैयालाल टण्डनबाट २५ हजार रुपैयाँ, नेपालगञ्ज १८ का पूर्णदेव गिरीबाट २५ हजार रुपैयाँ र नेपालगञ्जका बखत थापाबाट २५ हजार १ सय रुपैयाँ दान प्राप्त भएको आर्थिक संयोजक श्रेष्ठले बताए । आजैमात्र तुलादानबाट २१ हजार र ब्रतबन्धबाट १० हजार २ सय आम्दानी भएको उनले बताए ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।