कविता : आमा प्रति समर्पित ।
आज पनि देखिरहेकी छु
दुर क्षितिजमा फैलिएको
घना बादलकालाई च्यातेर
टिलपिलाइरहेछ एउटा तारा
स्मृतीको चिमनीबाट
मनभरी चियाउँदै
कल्पना गर्छु
तिम्रो अनुहार जस्तै
चम्किलो छ
हरेक अन्धकारलाई चिर्न सक्ने
निरासताको पर्दा छेडेर
हरेक मन मस्तिष्कमा
आशाको प्रकाश भई
छुन सक्ने
ओइलाएका पुष्पहरुमा
वहार छर्न सक्ने
आँचलमा अगालेर
बात्सल्यता भर्न सक्ने
उज्यालोको अद्भुत अनुभुती
मन भरी हुन सक्ने
अजर अनि अमर
तिमी त्यही तारा हौं
हर मनहरुमा
हर जंघारहरुमा
जोस बनेर जगाइरहने
स्मृतीको अमिट विम्व हौ
तिम्रो प्रतिविम्व त के वन्न सकुला र
तिम्रो अभावमा आउने ऐठनहरुलाई
नियन्त्रण गर्दै
तिम्रो यादको आगनमा
सजाइरहेकी छु तिम्रो तस्वीर
कहिले कहि
जिन्दगीका भिर र पिर पखालेर
दृढताको मन धोइरहेकी हुन्छु
तिमीलाई गुमाएको पल
मेरो खुशी खोसिएको क्षण
भाव विहलताको औसी च्यातेर
सम्झानाको पटाङगीतीबाट
हेरेरै भुलेको थिए उहि सितारा
आफैले आफैलाई अगाल्दै
सत्य स्वीकारेको तितो क्षण
तिमी खोसिएको दिन /
टाढिएका धेरै नातहरु
फर्कियर नियाल्छु
तिम्रो अनुपस्थितीका
कष्टका कैयौं वर्षहरु
अफ्ठ्यारोमा टाढिने आफन्तहरुका
अनगिन्ती बहानाहरुले चिमोट्न्छन
अनि
कल्पानावाट ब्युझन्छु
फेरी देख्छु उहि तारा
अनन्त गगनमा निशाचार चिरेर
नियालीरहेको हुन्छ मै तिर
कर्तव्यको रापले तापिएर
निथ्रुक्क भिजेको हुन्छु
औसु र पसिनाको चौधारामा
तिम्रा सम्झनाहरुलाई समेटेर
समालेर उठ्छु
विवसताका जञ्जालहरु चिर्दै
प्रतिज्ञाको पथमा हिड्छु
आमा ! तिमी सम्झनामा आउछेउ र त
सम्झन्छु निरन्तर यात्राको प्रतिवद्धता
आमा तिमी सपनामा आउछेउ र त
कुदीरहन्छु लक्ष्य चुम्न विपनामा
प्यारी आमा !
तिमी आइरहनु है सम्झनामा
तिमी आईरहनु है सपनामा
लेखक : सत्या पहाडी पुर्व शान्ति मन्त्री तथा नेकपा माओवादी केन्द्र कि महिला नेतृ हुन ।

