६ मंसिर २०८१, बिहीबार

विद्रोह र सङ्घर्षमा फूलजस्तै फुल्छ जीवन: अशाेक सुवेदी

लेखक : अशाेक सुवेदी

कविता”

विद्रोह र सङ्घर्षमा फूलजस्तै फुल्छ जीवन

निरन्तर सम्याउनु छ काँडा पाल्ने डाँडाहरू
डोजर–आगो लगाएर पन्छाउनु छ काँडाहरू
चट्टानहरू फुटाएर बनाउनु छ बाटाहरू
जारी नै छ शिखरयात्रा, निरन्तर–निरन्तर !

सहज छैन लक्ष्य चुम्न धेरै चुक्छन् बीचबाटै
तर यात्रा अनिवार्य शिखरसम्म सुरुबाटै
आउन सक्छन् बाघ–भालु, बीच बाटोमै छेक्नलाई
बाढी–पहिरो आउन सक्छ बीचमै यात्रा रोक्नलाई !

कहिलेकहीँ निराशा र थकाइ पनि लाग्न सक्छ
जितिछोड्ने अठोट र अभिलाशा भाग्न सक्छ
नरहन सक्छ उस्तै दृढ आस्था, लक्ष्य, विश्वास
अलमल्याउने, भाँड्ने तत्व हुन सक्छन् क्रियाशील !

कतिलाई लाग्न सक्छ कति लड्ने जीवनभरि ?
कोही थाक्न, गल्न सक्छन् लड्दा–लड्दा हार बेहोरी
लड्नु जीवन बचाउनु हो, नलड्नेको स्वत्व जान्छ
हार्नु, काँप्नु, भाग्नु हुन्न क्रान्ति–लक्ष्य धूमिल हुन्छ !

फार्छ हिमाल, खुल्छ आकाश, हट्दै जान्छ यो तुवाँलो
ढिस्काढिस्की सम्याए’छि बाँकी हुन्न क्यै भिरालो
पक्का जीवन फेरिनेछ, हट्छ कालो, मैलो, फुस्रो
फोहोर सफा गरेपछि रहँदैन कहीँ धुस्रो !

जीवन त भुसुना र कमिलाले पनि पा’छ
भुस्याहा र लुटेराको जीवन ध्वस्त हुँदै गा’छ !
विद्रोह र सङ्घर्षमा फूलजस्तै फुल्छ जीवन
उच्च शिखर चुमिछाड्ने सपनामै रम्छ जीवन !

बाँच्नलाई मात्र होइन, क्रान्ति गर्न बाँच्न सकूँ
खानलाई बाँच्ने होइन, परिवर्तन–अङ्ग बनूँ
जति बाँचूँ संसारको रूपान्तरण गर्न सकूँ
सिमलको भुवा होइन, पहाड बनी मर्न सकूँ !