२३ भाद्र २०८१, आईतवार

नेकपा विप्लवका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

    काठमाडौँ : विप्लव नेतृत्वको नेकपा अर्थात् विप्लव समूह महाधिवेशनपछि झन्झन् रित्तिँदै गएको छ । कैलालीमा शुक्रबार दर्जनौँ जिल्लास्तरीय नेता–कार्यकर्ता विप्लव समूहबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा समाहित भएका छन् । नेकपा (बहुमत) मा प्रवेश गर्नेहरूमा माओवादी केन्द्र, एमाले, नेकपा एस, नेपाली काङ्ग्रेसलगायत पार्टीका नेता–कार्यकर्ता पनि छन् ।

नेकपा (बहुमत) मा प्रवेश गर्ने विप्लव समूहका जिल्लास्तरीय नेताहरूमा शारदा अधिकारी (कैलाली जिल्ला सदस्य), कटक थापा (कैलाली जिल्ला सदस्य), पान्सरा विकलगायत छन् ।

त्यसैगरी राजबहादुर बिस्ट नेकपा (एकीकृत समाजवादी युवा सङ्गठनका लम्की इन्चार्ज तथा एसका जिल्ला सचिवालय सदस्य), रङ्ग बटाला (नेकपा समाजवादी केन्द्र का जिल्ला सचिवालय सदस्य), चक्र बिस्ट (नेकपा एसका नगर समिति सचिवालय सदस्य), पद्मा शाही (राप्रपा नगर समिति सदस्य), डिल्ली बटाला (नेपाली काङ्ग्रेस), पुरन कठायत (नेपाली काङ्ग्रेस), जोगी नेपाली (नेकपा माओवादी केन्द्र), कल्पना नेपाली (नेकपा माओवादी केन्द्र), नन्दु नेपाली (नेकपा एमाले), प्रेम देउवा, धनबहादुर विक, मीनबहादुर देउवा, गोरख विक, लक्ष्मण विक, अनिल विक, मीनबहादुर देउवा, रमेश देउवालगायत छन् ।

नवप्रवेशीहरूलाई नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् सेती–महाकाली ब्युरो इन्चार्ज महानले अबिर लगाई पार्टीमा स्वागत गरेका थिए । उक्त कार्यक्रममा पार्टीका कैलाली जिल्ला इन्चार्ज शेरबहादुर देउवा, जिल्ला संयोजक प्रकाश रावल ‘रूपेश’, रमेश साउदलगायत नेता–कार्यकर्ताको उपस्थिति थियो ।

विप्लव समूहबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा समावेश हुनेहरूले उक्त समूह संसदीय संशोधनवादी बनेको, राजनीतिक चरित्र गुमाई गुन्डागर्दी, आर्थिक सङ्कलन र अपराधकर्ममा तल्लीन भएकाले आफूहरू क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएको बताएका थिए ।

अन्य पार्टीहरूबाट विद्रोह गर्नेहरूले पनि नेपालमा नेकपा (बहुमत) को नेतृत्वमा मात्र दलाल पुँजीवादी सत्ता अन्त्य गर्दै वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सम्भव हुने भएकाले आफूहरू बहुमतमा लामबद्ध भएको बताए ।

स्मरणीय छ, विप्लव समूह परित्याग गर्दै केही दिनअघि मात्र ७५ भन्दा बढी नेता–कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका थिए । यसबीचमा कतिपय नेता–कार्यकर्ता माओवादी केन्द्र र कतिपय नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । महाधिवेशनमा विप्लव–प्रकाण्डले मालेमावादी सिद्धान्त परित्याग गरी पार्टीलाई संसदीय संशोधनवादमा डुबाएको, आआफ्नो गुट बनाएर आफन्तको भर्तीकेन्द्र बनाएको र कुनै गुटमा नलाग्नेहरूलाई कुनै जिम्मेवारी नदिएर अलपत्र पारेको भन्दै कयौँ नेता–कार्यकर्ता विद्रोहको तयारीमा रहेको महाधिवेशनबाट फर्किएकाहरूले बताएका छन् ।