याे सहरमा
झूट मूल्यवान् हुन्छ
सत्यको लिलामी हुन्छ
न्याय बन्धक बनाइन्छ
अन्याय स्वतन्त्रतापूर्वक विचरण गर्छ
घृणाको आगोमा जलेर
प्रेम खरानी हुन्छ
सहरको कोलाहललाई समेत
मात दिँदै
साइरनको गुन्जायमान ध्वनिले
आमजनलाई त्रसित पार्दै
शासकहरूको सवारी हुन्छ
मान्छेले आफ्नो सबै
आत्मस्वाभिमान बन्धकी राखेर
आफैँलाई बेच्छ–
देश बेच्छ
र लम्पसार पर्छ
भनेर साध्य नहुने
अरू नि धेरै थोक हुन्छ नि महोदय
यो सहरमा !
यो सहरमा
नहुने त केवल
गरिखानेहरूका लागि
एउटा कुना नसिब हुँदैन
खाडी पस्न लागेको युवाको आँसुको
कुनै मोल हुँदैन
साहूले सताएका किसानको
रुवाइ र चिच्याहटको कुनै सुनवाइ हुँदैन
सर्वस्व त्यागेर अन्यायका विरुद्ध
लड्न हिँडेकाहरूलाई
कसको साथ हुँदैन !
यस्तै हो संवेदनहीनताले
भरिएको यो सहर
जहाँ
आमजनका न्यायपूर्ण आवाजहरू
विलोप पारिदिने
कर्कश ध्वनिको कोलाहल मात्रै छ !!